चीनले नेपाललाई १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने

काठमाडौं, छिमेकी चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । चिनियाँ राजदूत होउ यान्छीसँग आज (बुधबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटवार्तापछि राज्यमन्त्री उमेश श्रेष्ठले यसको पुष्टि गरेका हुन् ।

उक्त भेटमा चिनियाँ सरकारले थप १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने निर्णय गरेको जानकारी राजदूत यान्छीले दिएकी हुन् । चीनले नेपाललाई दिन लागेको १० लाख डोज कोरोना खोप सिनोभ्याक कम्पनीले उत्पदान गरेको हो । यो खोप ल्याउन दुई छिमेकी देशका अधिकारीहरु छलफलमा रहेका छन् ।

मन्त्री श्रेष्ठका अनुसार नेपालमा आउनसक्ने कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न आवश्यक पूर्वाधार निर्माणका लागि चीनले ९ करोड २४ लाख रुपैयाँ (५० लाख चिनियाँ युआन) पनि अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

यसैबीच चिनियाँ जनमुक्ति सेनाले पनि नेपाली सेनाका लागि तीन लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरिसकेको छ । यसअघि पनि चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिएको थियो । चीनले १० लाख डोज खोप अनुदानमा दिएको थियो । सरकारले भेरोसेलको अन्य मात्रा पनि चीनबाट किनेर ल्याएको छ ।