ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

काठमाडौं, नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् ।

अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ ।

सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र अन्य कर्मचारीहरुहरुले देशका अन्य सरकारी अस्पतालभन्दा राम्रो सेवा सुविधा पाइरहेका छन् । तर, अस्पतालका धेरैजसो चिकित्सकहरु भने प्राय ३ बजेपछि अस्पतालमा भेटिदैनन । सिभिल अस्पतालको तलव र भत्ता खाने तर अरु निजी अस्पताल, क्लिनिकतिर विरामी जाँचिरहेको भेटिने गरेको सेवाग्राहीहरु बताउँछन् ।

सिभिल अस्पतालमा विरामी चाप भएका कारण कुपन सिस्टम लागु गरिएको छ । अस्पतालको बहिरंग (ओपिडी) सेवा लिने सेवाग्राहीले बिहानै अस्पतालमा पुगेर लाइन लाग्नुपर्छ । सेवाग्राहीले बिहानपख लिएको कुपनका आधारमा १० बजेपछि टिकट काट्नुपर्दछ । कुपन सिस्टम भएका कारण यहाँ टाढाबाट आउने विरामीहरुले ओपीडी सेवा लिन पनि मुस्किल छ । उपत्यका बाहिरबाट आउने सेवाग्राहीले अघिल्लो दिन नै अस्पताल नजिकै कतै बसोबास गर्ने र भोलिपल्ट बिहानै कुपन लिएर उपचार गराउने गरेका छन् ।

आइतबार अस्पताल परिसरमा भेटिएका सप्तरीको कञ्चनपुर घर भएका ४५ वर्षीय विदुर चौधरीले तीन दिन धाएपछि मात्र आफूले टिकट पाएको बताए । आफ्नी श्रीमतीको पाठ्यघर सम्बन्धी उपचारका लागि सिभिल अस्पताल पुगेका विदुर बुधवार काठमाडौं आइपुगेका हुन् । बुधवार श्रीमतीलाई लिएर १० वजे अस्पताल पुग्दा टिकट नै नपाएको उनी बताउँछन् । बहिरंग सेवाका लागि टिकट लिन बिहानै कुपन लिनुपर्ने अनिवार्य रहेछ भन्ने कुरा उनले धेरै सोधपुछ गरेपछि मात्र थाहा पाए । टिकट नपाएपछि उनी त्यो दिनको वास बस्नका लागि बल्खुको तरकारी बजारमा काम गर्ने आफन्तको कोठातिर लागे ।

भोलिपल्ट बिहान उनी कुपन लिन सिभिल अस्पताल पुगे । बल्खुबाट उनी मिनभवन आइपुग्दा ७ बजिसकेको थियो । कुपन लिनेको लामो लाइन थियो, उनी पनि त्यही लाइनमै उभिए । जब उनको पालो आयो, कुपन दिने ठाउँमा उनलाई गाइनोको कुपन सकिएको जानकारी गराइयो । उनले आफू सप्तरीबाट आएको र अघिल्लो दिन पनि अस्पताल पुगेको जानकारी गराए । तर, उनलाई कुपन दिइएन । प्रत्येक दिन कतिलाई जाँच्ने भनेर चित्सिकहरुले संख्या तोकि दिएकोले आफूहरुले केही गर्न नसक्ने कुपन बाँड्नेले बताए । बरु, कुपन लिन अलि बिहानै आउनुपर्ने भनेर भनियो । बिहीबार पनि उनी निरास भएर बल्खु फर्के । राजधानीमा नै बस्ने गाउँकै एकजनाले सिभिल अस्पतालमा राम्रो उपचार हुन्छ भन्ने सुनेकाले आफू यहाँ आएको उनले सुनाए । तर, निकै ठूलो हैरानी खेपेको भन्दै उनले दुःख व्यक्त गरे ।

सिभिल अस्पतालमा चिकित्सकहरुले ड्यूटी छोडेर धेरै विदामा बस्ने गरेको गुनासो यहाँका प्रशासनिक कर्मचारीहरुबाट समेत सुनिन्छ । चिकित्सकहरु विहानको सिफ्टमा ओपीडीमा कम विरामी लिएर बस्ने गरेको र दिउसो सिफ्टमा अस्पताल नै छाडेर निस्किने गरेको स्रोतको दावी छ । स्रोतका अनुसार यहाँका केही चिकित्सकहरु हप्तामा ४ दिन मात्र ओपिडीमा बस्ने गरेका छन् । बाँकी २ दिन कहिले विदा लिने, कहिले सर्जरी हुने भएकोले ओपिडीमा पालोमा बस्न नमान्ने गरेको गुनासो प्रशासनको छ । यहाँका चिकित्सकहरुले अस्पतालको तलब र भत्ता सकेसम्म बढी लिएर निजी क्लिनिकमा काम गर्नतिर बढी ध्यान दिन थालेको स्रोतको दावी छ ।

तर, सिभिलमा काम गर्ने चिकित्सकहरुका लागि देशका अन्य सरकारी अस्पतालभन्दा धेरै बढी भत्ता दिने गरिएको छ । यहाँका चिकित्सकहरुले बिहानको सिफ्टमा मात्र कम गरे पनि ३ सिफ्टको तलब भत्ता लिने गरेको बुझिन्छ । सिभिल प्रशासन स्रोतका अनुसार अहिले यहाँका चिकित्सकहरुलाई अन्य अस्पतालभन्दा राम्रो तलव र तलबको ७५ प्रतिशत बढी भत्ता दिने व्यवस्था गरिएको छ । यसका साथै अन्य सुविधा पनि चिकित्सकहरुलाई दिने गरिएको छ । तर, चिकित्सकहरुले पूरा समय ड्यूटीमा नबसेर अन्यत्र काम गर्नेतिर ध्यान दिने गरेपछि अस्पतालमा यस विषयमा कुरा उठेको छ ।

नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहने तथा अस्पतालका कार्यकारी निर्देशक सदस्य सचिव रहेको बोर्डले अस्पताल सञ्चालन गर्ने गरेको छ ।