अजय देवगनले ‘बाहुबली’ भन्दा ठूलो बजेटमा फिल्म बनाउने

एजेन्सी, बलिउड अभिनेता अजय देवगण ‘बाहुबली’ भन्दा ठूलो बजेटमा आफ्नो ड्रिम प्रोजेक्ट गर्दैछन् । ४ सय करोडको बजेटमा उनले आफ्नो फिल्म निर्देशन गर्ने भएको पिंकभिल्लामा उल्लेख गरिएको छ ‘बाहुबली’ २ सय ५० करोडमा बनेको थियो । आफ्नो सबैभन्दा महत्वकांक्षी प्रोजेक्टको कथासार उनले केही लेखकहरुलाई सुनाएका छन् । उनीहरु त्यही कथामा आधारित रहेर पटकथा लेख्दैछन् ।

फिल्ममा भिएफएक्सको ठूलो काम हुने बताइएको छ । अजय यो फिल्मलाई लिएर निकै उत्साहित छन् । तर फिल्मको फाइनल स्क्रिप्ट तयार भइसकेपछि उनको ड्रिम प्रोजेक्टको भविष्य थाहा हुनेछ । उनी अन्य फिल्महरुको काममा व्यस्त भएका कारण यो फिल्म बन्न समय लाग्ने देखिन्छ । फिल्मको बजेट बढ्न सक्ने पनि भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेको छ ।

अजय देवगन अहिले उनको अर्को फिल्म ‘मेडे’को पोस्ट प्रोडक्समा काम गरिरहेका छन् । ‘थ्यांक गड’को सुटिङ पनि गरिरहेका छन् । यस बाहेक उनी यशराजको प्रोडक्सनमा बन्ने नयाँ फिल्ममा देखिने चर्चा छ । आफ्नो ड्रिम प्रोजेक्ट ‘शिवाय’ निर्देशन गरिसकेपछि उनले ‘मेडे’को निर्देशन गरेका हुन् ।

अजय अहिले तामिल फिल्म ‘कैथी’को काममा पनि समय दिइरहेका छन् । उनी नीरज पाण्डेको ‘चाणक्य’मा पनि मुख्य भूमिकामा देखिँदैछन् । रोहित सेट्टीसँग ‘सिंघम ३’, ‘गोलमाल ५’ गर्ने पनि चर्चा छ ।

यी फिल्म बाहेक डिज्नी प्लस हटस्टारको सिरिज ‘रुद्रा’मा पनि देखिने तयारीमा छन् । साथै ‘बाहुबली’ जतिकै चर्चा कमाएको एस एस राजमौलीको फिल्म ‘आरआरआर’मा पनि देखिँदैछन् ।

फिल्ममा उनको अतिथि भूमिका रहनेछ । उनी आलिया भट्टको ‘गंगुबाई काठियावाडी’ र अक्षय कुमारको ‘सुर्यवंशी’को केमियोमा देखिँदैछन् । पछिल्लो समय उनी ‘भुज : द प्राइड अफ इन्डिया’मा देखिएका थिए ।