स्रोत नखुलेको ३० लाखसहित दुई भारतीय पक्राउ

रौतहट, रौतहट प्रहरीले बुधबार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ ।

परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर०५आर४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा भारत जिल्ला मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बन्टिकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई पक्राउ गरिएको हो ।

मोटरसाइकल पछाडि सवार सुरजले बोकेको नाईलुनको झोलामा स्रोत नखुलेको ३० लाख ७६ हजार नगद रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताए । उनका अनुसार उक्त रकमबारे प्रहरीले अनुसन्धान थालेको छ ।

ुमोटरसाइकल र पक्राउ परेकाहरुबारे सोधपुछ हुँदैछ,’ उनले भने,‘निषेधाज्ञाको फाइदा उठाउँदै अवैध रकम ओसारपसार गरेको पाइयो ।’ कोभिड १९ को संक्रमण बढेसँगै अहिले सीमा नाका बन्द छ । यही मौका छोपेर स्रोत नखुलेको रकमको ओसारपसार बढेको पाइएको छ । ओसारपसारमा संलग्न अधिकांश भारतीय नागरिक छन् ।

सशस्त्र र नेपाल प्रहरीले सीमा क्षेत्रबाट साउनयता स्रोत नखुलेको १ करोड ३९ लाख बढी रकम बरामद गरिसकेको जनाएका छन् ।