कोरोनाबाट मृत्यु भएकाको परिवारलाई महानगरपालिकाले एक लाख दिने

काठमाडौं, ललितपुर महानगरपालिकाले कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।शुक्रबार कोभिड–१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोवास गर्ने व्यक्तिहरू कोभिड-१९ संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रतिमृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताए ।

त्यस्तै, आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरूलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड– १९ जितेकाहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए ।

महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्रलगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ । महानगरभित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको पनि प्रमुख महर्जनले बताए ।