कालीकोटका गाउँगाउँमा कोरोना संक्रमित

परिक्षणको दायरा वढाउने तयारी

कालीकोट,कालिकोट जिल्लाको गाउँगाउँमा कोरोनाका बिरामी भेटिन थालेको छन्।ज्वरो तथा खोकीका लक्षण देखिएका बिरामी बढेको खबर पाएपछि एन्टिजेन परीक्षण गर्दा जिल्लाको पलाता गाउँपालिका २ बन्जडामा कोरोना संक्रमित भेटिएका हुन्।

गाउँका १५ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको थियो। गाउँमा बिरामी बढेको जानकारी पाएपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम स्वास्थ्यकर्मी लिएर त्यहाँ पुगेका थिए । परीक्षणका क्रममा आफ्नो श्रीमतीसहित ९ जनामा संक्रमण देखिएको गाउँपालिकामा कार्यरत कर्मचारी विष्णु प्याकुरेलले बताए।

पलाताका अन्य वस्तीमा पनि ज्वरोका बिरामी धेरै रहेका छन् । गाउँपालिकामा भएका जनशक्ति परिचालन गरेर परीक्षण गर्ने र संक्रमितलाई आइसोलेसनमा राख्ने तयारी थालिएको पलाताका स्वास्थ्य शाखाका सहसंयोजक विनोद न्यौपानेले बताए ।जिल्लाकै रास्कोट नगरपालिकाको वडा नम्बर १ र २ मा पनि ज्वरोका बिरामी भेटिएका छन् ।

सिपखाना स्वास्थ्य चौकी इन्चार्ज नमराज शाहीका अनुसार परीक्षणका लागि किटको अभाव छ । साथै ‘ज्वरो हो, सञ्चो हुन्छ’ भन्दै परीक्षण गर्न नमान्ने गरेको भन्दै शाहीले भने, ‘किट ल्याएर परीक्षण गर्ने हो भने धेरेमा संक्रमण देखिनसक्छ ।’कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले गाउँगाँउँमा ज्वराका बिरामी भएको खबर आइरहेको बताए। उनका अनुसार सुरुमा सबै पालिकालाई ५०/५० वटा एन्टिजेन किट दिइएको थियो । त्यसक्रममा संक्रमित भेटिएपछि अहिले स्थानीय तह आफैंले पनि किन किनेर परीक्षण गर्न थालेका छन्।

लक्षण देखिएकाहरुलाई मात्र टेष्ट गर्ने गरिएको प्रजिअ आचार्यले जानकारी दिए । उनले अघि भने, ‘सुरुमा भारतबाट आएकाहरुमा लक्षण देखिएको थियो । अहिले त ट्राभल हिस्ट्री नभएकाहरुमा समेत संक्रमण देखिन थालेको छ ।’

पालिकाहरुले २०/२० बेडको आइसोलेसन सेन्टर बनाएका छन् भने सदरमुकाममा पनि ५० बेडको कोभिड अस्थायी अस्पताल सञ्चालन गरिएको छ । सबैतिर ८/१० जना संक्रमित छन् । धेरै संक्रमित होम आइसोलेसनमा छन् ।