इजरायल-प्यालेस्टाइनलाई संघर्षविराम गर्न अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

काठमाडौँ, अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनलाई संघर्षविराम गर्न आग्रह गरेका छन् । हमास र इजरायली सेनाबीच हिंसात्मक द्वन्द्व चर्किएको ८ दिनपछि बाइडेनले संघर्षविरामका लागि आफूले पहल गरिरहेको बताएका हुन् ।अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिकाले इजिप्टलगायतका मुलुकसँग मिलेर जारी द्वन्द्व कम गर्न प्रयासरत रहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।
तर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा हिंसा बन्द गर्न आह्वान गरिएको संयुक्त वक्तव्य जारी गर्न भने अमेरिका मानिरहेको छैन ।

द्वन्द्व चर्किएको दोस्रो हप्ता सुरु भइसकेको छ, तर तत्काल अन्त्य हुने भने संकेत देखिएको छैन । अहिलेसम्म प्यालेस्टाइनतर्फ ६१ बालबालिकासहित २ सय १२ जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित १० जना इजरायलीको मृत्यु भएको छ ।

इजरायलले गाजामा मारिएकामध्ये अधिकांश हमास विद्रोहीसँग आबद्ध भएको दाबी गरेको छ । तर अन्तर्राष्ट्रिय संघसंस्थाका स्वतन्त्र रिपोर्टमा भने इजरायली सेनाको आक्रमणमा सर्वसाधारण पनि मारिएको बताइएको छ ।

ह्वाइट हाउसबाट जारी विज्ञप्तिमा राष्ट्रपति बाइडेनले निर्दोष सर्वसाधारणको सुरक्षाको सुनिश्चित गर्न इजरायललाई आग्रह गरेका छन् । त्यस्तै बेलायतका प्रधामन्त्री बोरिस जोन्सनका प्रवक्ताले पनि वक्तव्य जारी गर्दै सर्वसाधारणलाई लक्षित गरी आक्रमण नगर्न आग्रह गरेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलले नेतान्याहुलाई फोन गरेर द्वन्द्व अन्त्यका लागि पहल गर्न अनुरोध गरेकी छिन् । त्यस्तै फ्रान्स र इजिप्टले पनि जारी द्वन्द्व तत्काल अन्त्य गर्न दुवै पक्षलाई अनुरोध गरेका छन् ।

त्यस्तै संयुक्त राष्ट्र संघले गाजामा ४० वटा विद्यालय र चार वटा अस्पतालमा ‘पूर्ण वा आंशिक रुपमा क्षति पुगेको’ बताएको छ । विश्व स्वास्थ्य संगठनका आपत्कालीन विभागका प्रमुख डा. माइक र्‍यानले स्वास्थ्य संस्थामा भइरहेको आक्रमण तत्कालन बन्द गर्न आग्रह गरेका छन् ।

गाजा क्षेत्रमा सोमबारदेखि भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । यसको सुरुवात पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिदनजिक भएको झडपबाट सुरु भएको हो । त्यसको तीन दिनपछि सोमबारदेखि भने दुवै पक्षबाट रकेट र मिसाइल हमला भइरहेको छ ।

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको थियो । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।

इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह : साइरन बज्नासाथ सुरक्षित स्थानमा जानुहोस्
प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका थिए । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थए ।