२४ घण्टामा ८ हजार ४६७ संक्रमित थपिए, ६ हजार १३५ संक्रमणमुक्त

थप २०३ जनाको मृत्यु

काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।

यस्तै २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २०३ जनाको मृत्यु भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार नेपाली सेनाले विभिन्‍न मितिमा व्यवस्थापन गरेको शवसहित २०३ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६६९ पुगेको छ ।