काठमाडौंमा जेठ १३ सम्म निषेधाज्ञा थपियो

अत्यावश्यक बाहेक कार्यालय बन्द

काठमाडौँ,उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको छ।उपत्यकाको तीन जिल्ला काठमाठौँ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको थियो। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो।

त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गर्दे बुधबार राति १२ बजेसम्मका लागि समय थपिएको थियो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड १९ को बढ्दो सङ्क्रमण दर नघटेपछि पुनः निषेधाज्ञा थप गरिएको हो।
निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ।

काठमाडौँ प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा भनिएको छ,‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्नेरगराउने व्यवस्थाका लागि जानकारी गराइन्छ।’यस्तै, निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छ। मानिसका भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।

सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन्।सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ। विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ। घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।