४ बजेपछि अक्सिजन दिन नसक्ने युनिभर्सल शिक्षण अस्पतालको आग्रह

बुटवल,भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने बताएको छ।अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्तिमार्फत जनाएको छ।

बुधबार दिउँसो जारी विज्ञप्तिमा बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनिएको छ । एक हप्ताअघिदेखि माग अनुसारको अक्सिजन व्यवस्था गर्न विभिन्न उपाय अवलम्बन गर्दै आएपनि जिल्लाका तीन उद्योग र बाहिरबाट पनि आपूर्ति हुन कठीन भएकाले वाध्य भएर उपचार दिन नसकिने अवस्था आएको प्रमुख प्रशासकीय अधिकृत कमल ढकालले बताए।

ढकालका अनुसार अस्पतालमा कोभिड-१९ का ९० जनासहित दुई सय जना बिरामी उपचाररत छन् । तीमध्ये एक सय ८० जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको छ । तीमध्ये ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आईसीयूमा छन्।माग अनुसार अक्सिजन जिल्लाका उद्योगले दिन नसकेपछि अस्पतालले चितवनबाट आउनुपर्ने १५० जम्बो सिलिण्डर अक्सिजन रोकिएपछि गएराति मध्यरात जिल्ला प्रशासन कार्यालयमा पुगेर हारगुहार गरेको थियो।१० दिन अगाडि पनि जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई पत्र लेखेर अक्सिजन अभावबारे जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए।

‘माग अनुसार अक्सिजनको आपूर्तिको सुनिश्चतता नभएपछि एक हप्ता अगाडि पनि सूचना जारी गरेर नयाँ बिरामी भर्ना बन्द गरिएको थियो’ ढकालले भने।बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल लगायतका कोभिड अस्पतालहरुमा पनि अक्सिजनको अभाव भइसकेको छ।अक्सिजन अभावमा अस्पतालले नयां विरामी भर्ना गर्न सक्ने अवस्था नभएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा। राजेन्द्र खनालले बताए।