भारतमा ओलीलाई सपोर्ट

काठमाडौं,प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि विदेशी सञ्चारमाध्यमले विभिन्न टिकाटिप्पणी गरिरहेका छन्। यसैबीच भारतको चर्चित दैनिक हिन्दुस्तान टाइम्सले यसबारे विवादास्पद टिप्पणी गरेको छ।पत्रिकाले आफ्नो सम्पादकीयमा पदमुक्त भएर काम चलाउ प्रधानमन्त्री बनेका ओलीलाई दिल्लीको साथ रहेको उल्लेख गरेको छ।

हिन्दुस्तान टाइम्सले आफ्नो अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयमा ओलीले संसदको विश्वास गुमाएको उल्लेख गर्दै लेखेको छ, ‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगै माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका कारण प्रधानमन्त्रीले विश्वासको मत नपाएका हुन्।’पत्रिकाले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई अनुभवी मधेसी नेता बताउँदै लेखेको छ, ‘भारतको सल्लाह महन्थ ठाकुरलाई तटस्थ बस्नु भन्नेछ, दिल्लीको सपोर्ट अहिले पनि ओलीलाई नै छ।’

पत्रिकाले जसपा नेता उपेन्द्र यादव र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ओलीलाई सत्ताबाट हटाउन उत्सुक रहेको उल्लेख गरेको छ । राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको समयभित्र नयाँ सरकार गठन नगरिए ओली नै ठुलो दलको नेताको रुपमा पुनस् प्रधानमन्त्री बन्ने पनि सम्पादकीयमा उल्लेख छ।