डोल्पामा यार्सा टिप्न पुगेका युवाको मृत्यु

डोल्पा,डोल्पामा यार्सागुम्बा संकलनका लागि पाटन पुगेका एक युवाको लेक लागेर मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिकाअन्तर्गत पर्ने जगदुल्ला यार्सापाटनमा लुकिछिपी यार्सा संकलनका लागि पुगेका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं ७ बस्ने २७ वर्षीय कुमार खत्रीको लेक लागेर मृत्यु भएको हो।

मृतक खत्री आफ्ना बुबा मानबहादुर खत्रीसहित पाँच महिनाअघि काठको काम गर्न जगदुल्ला आइपुगेका थिए । कोभिड– १९ संक्रमणका कारण यस वर्ष पनि पूर्ण रूपमा बन्द गरिएको यार्सापाटनमा अवैध रूपमा पुगेका खत्री लेक लागेर सिकिस्तै बिरामी परेपछि उपचारका लागि बोकेर काइगाउँ स्वास्थ्य चौकी पुर्‍याइएको र उपचारको क्रममा मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

कोरोना संक्रमण फैलन सक्ने भन्दै अघिल्लो वर्ष नखुलाइएको यार्सापाटन यस वर्ष पनि यार्सागुम्बा संकलन बन्द गर्ने कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको छ । यसअघि पनि लुकिछिपी पाटनमा पुगेका १७ वर्षीय जुम्ली युवा सुमन रावलको लेक लागेर मृत्यु भएको थियो ।