कोरोनाबाट प्रदेशसभा सदस्य चौलागाईंको निधन

काठमाडौं, बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ। मनमोहन मेमोरियल अस्पतालमा उपचाररत उनको मंगलबार साँझ निधन भएको बताइएको छ।वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता समेत रहेका चौलागाईंको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिएको छ ।

नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वाग्मती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यसअघि आज बिहानै नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए भने पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । कोरोना भाइरसको संक्रमणबाट नेता चौलागाईंको मंगलबार निधन भएको थियो ।

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेता चौलागाईं २०५६ सालको निर्वाचनमा दोलखा–१ बाट एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।