कोरोनाले लियो एकैघरका तीन दाजुभाइको ज्यान

नेपालगञ्ज,कोरोनाबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज,एजाज र जहीर अहमद रहेका छन्।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोमल पर्सन तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो।जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको वलीले बताए। सात दाजुभाई मध्ये जहीर कान्छा,एजाज राइलो र इम्तियाज काइलो हुन्।

उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आउनु भएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो।एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए।

बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएको थियो। हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।