भारतमा एकैदिन थपिए २ लाख १६ हजार बढी कोरोना संक्रमित, ११८३ को मृत्यु

काठमाडौँ, भारतमा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ ।पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख १६ हजार ८ सय बढी कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४२ लाख ८७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा २ लाख १६ हजार ८५० संक्रमित थपिएको वर्ल्डओमिटरले जनाएको छ । संक्रमित भएको यो संख्या भारतमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।यसअघि हिजो भारतमा १ लाख ९९ हजार ५६९ संक्रमित थपिएका थिए । भारतमा हालसम्म १ करोड २५ लाख ४३ हजार बढी संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६९ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजार ३३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।आज विहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या १३ करोड ९६ लाख ६५ हजार नाघेको छ ।संक्रमितमध्ये २९ लाख ९८ हजार ८ सय बढीले ज्यान गुमाएका छन् । अहिलेसम्म ११ करोड ८७ लाख ५२ हजार बढीले कोरोना संक्रमणलाई जितेका छन् ।

विश्वमा हाल सक्रिय संक्रमितको संख्या १ करोड ७९ लाख १४ हजार बढी छ । जसमध्ये १ लाख ६ हजार ६ सय बढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।