कर्णालीमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता

सुर्खेत, नेकपा एमालेले सरकारको साथ छाडेपछि अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।

शाहीले विश्वासको मत लिनका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । मंगलबार पत्र दर्ता गरिएको नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टले जानकारी दिएका छन् । एमालेले चैत ५ गते कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यस्तै, मुख्यमन्त्री शाहीको नेतृत्वको सरकारमा रहेका एमालेका तीन मन्त्रीले गत चैत २४ गते राजीनामा बुझाएका थिए ।

राजीनामा दिने या विश्वासको मत लिने विकल्पमध्ये शाहीले विश्वासको मत लिने विकल्प रोजेका हुन् । कर्णाली प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र राप्रपाका १३९ सांसद छन् ।

माओवादी केन्द्रका १३ सांसदमध्ये दैलेखका धर्मराज रेग्मीलाई सांसद पदबाट हटाएकाले माओवादीका १२ सांसद छन् । विश्वासको मतका लागि माओवादीलाई २० मत आवश्यक पर्छ । कर्णाली प्रदेशसभा वैशाख ३ गते बस्दै छ । ३ गतेको बैठकमा विश्वासको मत लिने सम्भावना रहेको सांसद विष्टले बताए । मुख्यमन्त्री शाही राजनीतिक दलहरुसँग छलफलमा छन् ।