भूइँमान्छेको कथा लेख्ने म भूइँ पत्रकार

यस कारण महासचिवमा मेरो उम्मेदवारी

म तप्तबहादुर मल्ल । व्यावसायिक नाम भौतिक मल्ल । अझ त्यो भन्दा पर गएर भन्दा कर्णालीका भूइँमान्छेको कथा लेख्ने म भूइँ पत्रकार । मसंग त्यस्तो गौरवलाग्दो विगत पनि छैन । समाज ऋणी हुनुपर्ने गुन लगाएको पनि छैन ताकि घमण्डले फुलौं । प्रारब्धले मलाई कलमको पहरेदार बनायो । कर्णालीमा नाभी गाढिएका कारण कलम क सट्टा कर्णाली क को पदचापमा हुर्किएँ । त्यही स्नेह संगाल्न काठमाडौंमा गर्दै गरेको पत्रकारिता चट्टै माया मारेर कर्णाली फर्किएँ । अक्षरमा कर्णाली हैन, कर्णालीभित्र अक्षर खोज्छु भनेर कसम खाएँ । यो मेरो अन्तरआत्माको आवाज थियो । त्यही आत्मविश्वासले कथा कर्णालीका जन्मायो । कथा कर्णालीले डो¥याउँदै लाँदा घर गाउँ बस्ती पुगें । कहिले पाचाल झरनासंग रमाएँ, कहिले राराको पानीसंग तरंगिएँ , कहिले डोल्पाको सुप्पाकुना गुफा पस्ने दुस्साहस गरें । जे गरें पत्रकारिता गरें । कसैलाई गुन लगाउन गरिन । यदि मेरो कर्मले कसैको हित भएको भए त्यो मेरो जीवनको सर्वाधिक ठूलो कमाइ हो । यसैलाई पूँजी मानेर अबको यात्रा तय गर्छु । 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको महासचिवमा उम्मेद्वारी मेरो आफ्नै इमानको परीक्षा हो । कर्मवीर र कलमवीरहरुलाई उर्जा थप्नु मेरो पहिलो र अन्तिम उद्देश्य हो । गुणात्मक पत्रकारिता मेरो उम्मेद्वारीको आधार हो । सर्वप्रथम आफूभित्रैबाट शुद्धिकरण थालौं । आवाजविहीनहरुको आवाज बनेको यो सशक्त माध्यमलाई विश्वासको थलो बनाउँ भन्ने महाभियानको थालनी नै उम्मेदवारीको प्रस्थान विन्दु हो । एक्काइशौं शताब्दीको पत्रकारिताले भीड नभई गुणात्मक रस खोजेको छ । त्यो रसको खोजी हाम्रा लागि चुनौती र अवसर दुवै हो ।

मान्छेसंग मान्छे डराउने कर्णाली अहिले चेतनाको सिंढीमा उक्लिरहेको छ । यो भूगोललाई समृद्ध बनाउने दायित्व हामी सवैको काँधमा छ । त्यसो त राजनीतिभित्रको अपराध र अपराधको राजनीतिकरण देशव्यापी चुनौती हो । यो परिस्थितिमा पत्रकारिता राजहाँस बन्न सक्ने अवस्था जटिल बन्दै गएको छ । यदि हामीले नै सुधारको काम गरेनौं भने कसले गर्ने रु अहिले नगरे कहिले गर्ने रु व्यावसायिकता मेरो धर्म, कर्म दुवै हो । तपाईंको मतलाई पश्चातापमा बदल्ने अवसर दिने छैन । अब्बल उम्मेदवारको कसीमा म थोरै पनि निर्वल ठहरिएँ भने त्यो पराजय मेरा लागि शिरोधार्य हुनेछ । तपाईंहरुको कठघरामा उभिएको छु । प्रिय मतदाताका हरेक निर्णय स्वीकार्न तयार छु ।