निर्वाचन आयोगमा पुग्यो सर्वोच्च अदालतको फैसला

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दल दर्ताबारे गरेको फैसला निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फैसला आइतबार नै प्राप्त भइ दर्ता भएको जानकारी दिए ।

‘सम्मानित सर्वोच्च अदालतको च.नं २२७३ मिति २०७७।११।२३ को मुद्दा नं. ०७५–दब्लु–०५१७ को आदेश÷फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्यूनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गर्ने यस आयोगबाट मिति २०७५।०२।२३ र मिति २०७५।०७।०९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला आज मिति २०७७।११।२३ गते कार्यालय समयमा नै प्राप्त भई यस आयोगमा दर्ता नं १०१४ मा दर्ता भएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्चले आजै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपाको आधिकारिकता खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएको थियो ।