ओली समूहको संसदीय दलको बैठक सकियो

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सकिएको छ । बैठकमा सहभागी सांसदले बहुमत सांसद उपस्थित भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय गर्नमा केन्द्रित भएको छ ।

यसअघि नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बसेको थियो । प्रचण्ड–माधव समूहको बैठकमा बहुमत (१११) सांसद उपस्थित थिए भने अन्य चार जना विशेष कारणले काठमाडौं बाहिर थिए । पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनर्स्थापना गरेको छ ।

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक फागुन २३ गते आइतबारका लागि आह्वान गरिएको छ । शुक्रबार नेकपा प्रचण्ड––माधव पक्षले ओलीलाई बहुमतका आधारमा दलका नेताबाट हटाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको छ ।प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका नेताको हैसियतमा देव गुरुङलाई मुख्य सचेतकबाट हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए । त्यससम्बन्धी ओलीको पत्र प्राप्त भएको दुई दिनमै संसद् सचिवालयले भट्टराईलाई मुख्य सचेतकको कार्यकक्षसहित सेवा सुविधा दिएको छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ ।

एउटा पक्षको नेतृत्व प्रचण्ड–नेपालले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् । पार्टी विवादबारे निर्वाचन आयोगले अहिलेसम्म टुंगो लगाउन सकेको छैन । आयोगले टुंगो नलाउँदा नयाँ सरकार निर्माणको विषय थप पेचिलो बन्दै गएको छ । प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा ११५ जना सांसद रहेको दाबी गरेको छ । १११ सांसदहरूले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा नेकपाका १७३ जना सदस्य छन् । सानु शिवाको निधनपछि नयाँ नियुक्ति नहुँदा एक पद रिक्त छ । ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ४९ जना सांसद छन्। दुवै सदन गरेर २२२ सदस्य छन् ।