ओली ‘कुहिएको अण्डा’ हुन् : अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कुहिएको अण्डा’ को संज्ञा दिएका छन् ।आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली ‘बिग्रिएको कम्युनिष्ट’ भन्दै कुहिएको अण्डा जस्तो काम नलाग्ने भएको बताएका हुन् ।

कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भएता पनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैं चलिरहने उनले स्पष्ट पारे । माओले बिग्रिएका कम्युनिष्टलाई कुहिएको अण्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली पनि ‘कुहिएको अण्डा’ भएको बताए ।

‘एकपटक माओत्सेतुङले बिग्रेका कम्युनिष्टका बारेमा भन्नु भएको थियो । अण्डा स्वास्थ्यका लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुँदैन । कम्युनिष्टहरु राम्रा हुन्छन् तर गन्हाउन थाले, बिग्रिन थाले र कुहियो भने त्यो भन्दा नराम्रो कोही पनि हुँदैन । केपी ओली त्यही कुहिएको अण्डा हो,’ उनले थपे, ‘कुहिएको गन्हाएको अण्डालाई खाइँदैन नि । त्यसलाई गाडिन्छ या जलाइन्छ । तपाईं हामीचाहिँ स्वस्थ्यवर्द्धक जीवनशील तत्व हो । ’

प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध ‘जनयुद्ध’ शुरु भएको भनेको स्मरण गर्दै उनले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताए । उनले भने, ‘मैले प्रतिक्रान्तिको षड्यन्त्रको विरुद्ध शान्तिपूर्ण रुपले नयाँ जनयुद्ध शुरु भयो भनेको थिएँ । जनयुद्धमा सर्वोच्चको फैसलापछि तपाईं–हामी सबै विजयी भएको अवस्था हो । ’

उनले नेत्रविक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुशी हुँदै उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए । ‘विप्लवजी पनि अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यस अर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउनेछ, जुन दिन तपाईं यहाँ हुनुहुनेछ भनेको थिएँ,’ उनले भने, ‘एउटा कालखण्डमा एउटै मात्र प्रचण्ड हुन्छ । दुई वटा पात्र एकैचोटी हुँदैन । एउटा कालखण्डमा एउटा क्रान्ति हुन्छ, दुई वटा प्रचण्ड हुँदैन भनेकै थिएँ । अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनु भयो ।’