कोरोना विरुद्धको खोपमा भारत-चीन प्रतिस्पर्धाले उग्ररुप लिंदै

काठमाण्डौ,कोरोना नियन्त्रण गर्ने विषयमा दुई छिमेकी राष्ट्रहरु भारत र चीन विचको विवाद चुलिएको छ ।अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरसको खोप उत्पादन गर्ने भारतीय कम्पनीहरुले चिनिया ह्याकरहरुले आफ्नो पुरै ‘सिस्टम’ ध्वस्त पारिदिने प्रयास गरेको दावी गरेपछि यो विवाद चर्किएको हो । यद्धपी चीनले भने भारतीय आरोपको कडा खण्डन गरेको छ।

भारतीय आरोप सार्वजनिक भए लगत्तै नयां दिल्लीमा रहेको चिनिया दूतावासले चीनमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौति समेत दिएको छ ।‘चीन साइबर हमला जस्ता गैरकानुनी कार्यको सदैव कडा विरोध गर्दै आएको छ । यसबारेमा कुनै पनि किसिमको अनुमान लगाउनु र त्यही अनुमानको आधारमा हचुवा किसिमले आरोप लगाउनु चरम गैर जिम्मेवार हो।

आरोप लगाउने पक्षले त्यसको सत्यतथ्य पुष्टि गर्नुपर्छ’ नयां दिल्ली स्थित चिनिया दूतावासद्धारा जारी विज्ञप्ति उल्लेख गर्दै भारतीय समाचार च्यानल आजतकले जनाएको छ।भारतमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन कार्य भारत वायोटेक र सिरम इन्स्टिच्यूट अफ इण्डिया ९एसआईआई० ले गर्दै आइरहेका छन्। त्यस्तै चीनको सरकारी कम्पनी सिनोफर्मले पनि कोरोना विरुद्धको खोप उत्पादन गरिरहेको छ। विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएका यी दुई देशबीच अहिले कोरोना विरुद्धको खोप निर्यात गर्ने क्रममा होडवाजी चलिरहेको छ।

कोेरोना विरुद्धको खोप मार्फत अहिले दुवै देशहरु विश्वभर आफ्नो प्रभाव विस्तारमा लागेका छन् । त्यहीक्रममा एक अर्कालाई कमजोर देखाउने र आफ्नो बजार विस्तार गर्ने प्रयास दुवै देशले गरिरहेका छन् । त्यसैको सिलसिलाको रुपमा पछिल्लो विवादलाई लिइएको छ ।