बालुवा पेलेर तेल निस्किनु र ओली सुध्रिनु उस्तै-उस्तै : अध्यक्ष नेपाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु उस्तै–उस्तै भएको बताएका छन् ।

आफूहरुले नै नेतृत्व गरिरहेको नेकपा निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अझै पनि केपी ओलीलाई सुधार्छु भन्दै लागिरहेको बताए । कुनै बेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको स्मरण गर्दै अहिले फेरि ओलीलाई सुधार्न गौतमले नै कोशिस गरिरहेको तर आफूले ‘बालुवा पेलेर तेल निस्किँदैन तर पनि कोसिस गर्नुस्’ भनेको बताए ।

उनले भने, ‘दुई तिहाईको संख्यामा भएको ठाउँमा उहाँले तुरुन्तै भङ्ग गरिदिनु भयो । किन भङ्ग गरिदिनुभयो भने मलाई प्रधानमन्त्रीबाट हटाउने भए भनेर । प्रधानमन्त्रीबाट हटाउने कुरा गर्ने को हो थाहा छ ? वामदेव गौतम हो । फेरि उहाँ (प्रचण्ड) लाई दोष जान्छ सबैभन्दा बढी । होइन, साँचो कुरा म तपाईहरुलाई बताउँछु । केपी ओली खराब मान्छे हुन् भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले । ४० मिनेट भाषण गर्नुभयो, केपी ओली जस्तो रद्दी मान्छे धर्तीमा कोही पनि छैन भनेर । अब अहिले पनि उहाँ फेरि कोशिस गर्दै हुनुहुन्छ । केपीलाई सुधार्न । अब प्रयास गर्नुहोस् भनेर मैले भनेको छु, यो बालुवा पेलेर तेल निस्किँदैन कोशिस गर्नुहोस् ।’

अध्यक्ष नेपालले अव केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । बरु ओली प्रवृतिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए । अहिले प्रतिनिधि सभा पुनःस्थापना भए पनि पुरै लडाई जित्न बाँकी रहेको समेत अध्यक्ष नेपालले बताएका छन् ।