आफूमाथि हातपात भएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

काठमाडौं, अभिनेत्री सुष्मा कार्कीले आफूमाथि हातपात भएको भन्दै आरती खड्काविरुद्ध महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन् ।

सोमबार काठमाडौंको लण्डन पबमा हातपात भएपछि राति नै प्रहरीमा उजुरी दिएको उनले बताएकी छिन् । ‘उत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा भनाभन भयो । त्यही बेला दुई जना केटाहरु आएर मलाई अपशब्द प्रयोग गरे । त्यसपछि श्वेता खड्काकी बहिनीले पछाडिबाट कपाल लुछिन् । मसँग फुटेज छ,’ उनले भनिन् ।

पबमा अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्रसिंह राउत र बहिनी आरती खड्का र उपस्थित थिए । प्रहरीमा उजुरी दिन पबबाट निस्कँदा श्वेताले समेत आफूविरुद्ध अपशब्द प्रयोग गरेको कार्कीले बताएकी छिन् ।

सोमबार राति नै कार्कीले हातपात गरेको भन्दै निवेदन दिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् । ‘आरती खड्कासँग उहाँको सामान्य विवाद भएको रहेछ । उहाँले उजुरी दिनु भएको छ । उजुरीमा सामान्य हातपात भएको उल्लेख गर्नु भएको छ,’ उनले भने, ‘दुई पक्षलाई छलफलका लागि बोलाएका छौं ।’