नेकपाले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै

५० हजार नागरिक उतार्ने तयारी

धनगढी,  प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शक्ति प्रदर्शन गर्दैछ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल शनिबार बिहान धनगढी आउँदै छन् ।

धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका नेता तारालामा तामाङले जानकारी दिएका छन् । धनगढीको दुई ठाउँबाट र्‍याली निकालिने लामाले जानकारी दिएका छन् ।र्‍याली कार्यक्रमस्थलमा गएर टुङ्गिने छ । ‘एउटा र्‍याली धनगढी चौराहबाट निस्किन्छ । अर्को केएमसी कलेजबाट दुवै कार्यक्रमस्थलमा गर टुङ्गिने छन्,’ नेता तामाङले भने, ‘सभामा ५० हजार मानिस सहभागी हुने अनुमान गरेका छौं ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन् ।नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सो समूले यसअघि काठमाडौं, बुटबल, विराटनगरलगायतका ठाउँमा विरोध सभाको आयोजना गरिसकेको छ । आउँदो माघ २८ गते नेकपाले काठमाडौंमा दुई लाख नागरिक उतार्ने गरी अहिलेसम्मकै विशाल शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । पछिल्लो समय नेकपाको विरोध प्रदर्शनमा नागरिक सहभागिता उल्लेख्य रुपमा बढ्दै गइरहेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले पनि वडा तहसम्मै विरोधका कार्यक्रम घोषणा गरेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरु पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि भइरहेका आन्दोलनका पक्षमा देखिएका छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवा भने अहिले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै अहिले आन्दोलन गर्ने मनस्थितिमा छैनन् । उनले आन्दोलनमा भन्दा पनि सरकारले बैसाखका लागि घोषणा गरेको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।