बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हालै अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका जो बाइडेनलाई बधाई सन्देश पठाएका छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल–अमेरिका सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले बताएको छ । उनले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा अमेरिकाको नयाँ नेतृत्वले प्रभावकारी कदम चाल्ने विश्वास पनि व्यक्त गरेकी छिन् ।

यस्तै, प्रधानमन्त्री ओलीले पनि बाइडनलाई बधाई सन्देश पठाउँदै उनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने विश्वास व्यक्त गरेका छन् । साथै नयाँ नेतृत्वसँग मिलेर सहकार्य गर्न नेपाल आतुर रहेको पनि प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।