हुस्सु नखुलेपछि तराईका जिल्लाहरुको उडान प्रभावित

काठमाडौँ, भिजिबिलिटी नभएपछि आन्तरिक उडान प्रभावित भएको छ । हुस्सी नहटेपछि तराईका सबैजसो विमानस्थलमा हुने आजका उडान प्रभावित भएका हुन् ।

भिजिविलिटी नभएपछि विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, टुम्लिनटार र नेपालगञ्जका लागि आज मध्यान्ह १२ बजेअघि तय भएका १९ वटा उडान रद्द भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बुद्ध एयरलाइन्सका १० वटा, यती एयरलाइन्सका ६ वटा र सौर्यका ३ वटा उडान आज रद्द भएका छन् ।

बुद्ध एयरले नेपालगञ्ज, सिमरा, भैरहवा र तुम्लिङटारका उडान स्थगित गरेको छ । यस्तै सौर्य एयरले भद्रपुरको उडान स्थगित गरेको छ । भिजिविलिटी नहुँदा अरू २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको उनले बताए ।

‘तराइमा भिजिविलिटी छैन यसैकारण आज तय भएका आन्तरिक उडानतर्फका ८८ वटा उडानमा धेरैजसो प्रभावित भएको छ,’ क्षेत्रीले भने । हुस्सु खेलेर भिजिविलिटी पर्याप्त भएमा साँझसम्म उडान हुन सक्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ ।

आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।