कांग्रेसले अन्य पार्टीबाट आएका ८० हजारलाई क्रियाशील सदस्यता दिने

काठमाडौं, कांग्रेसमा विलय भएका दल र नेता–कार्यकर्ताको समायोजनको विवाद मिलेको छ । ०७४ को आमनिर्वाचन र त्यसयता कांग्रेसमा विलय भएका राजनीतिक दल र दल परित्याग गरी प्रवेश गरेका नेता–कार्यकर्ताको विषयमा दुई वर्षदेखिको विवाद टुंगिएको हो । अब ती नेता–कार्यकर्ताले क्रियाशील सदस्यता पाउने बाटो खुलेको छ ।

केन्द्रीय कार्यसमितिले त्यस्ता नेता–कार्यकर्ताको समायोजनका लागि २० कात्तिक, ०७५ मा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दल समायोजन समिति गठन गरेको थियो । समितिमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य थिए । समितिले दुई वर्ष लगाएर सहमति जुटाएपछि केन्द्रीय समितिमा पेस गरेको नीतिगत निर्णयलाई आइतबारको बैठकले पास गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

समायोजनपछि अब एकैपटक करिब ८० हजार नयाँ क्रियाशील सदस्य थपिने उनले बताए । ‘अन्य दल समायोजन समितिको प्रतिवेदनलाई केन्द्रीय समितिले पारित गरेको छ, अब त्यहीअनुसार अन्य राजनीतिक दलका नेता–कार्यकर्ताको समायोजन र क्रियाशील सदस्यताको टुंगो लाग्छ,’ उनले भने ।अन्य राजनीतिक दल समायोजन समितिले ०७६ को फागुनमै समायोजनको निर्णय गरेर त्यस्ता नेता–कार्यकर्ताको सूची सम्बन्धित जिल्लामा पठाएको थियो । तर, समायोजनका क्रममा सभापति शेरबहादुर देउवाले आफूअनुकूल क्रियाशील सदस्यता वितरण गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि राखेको थियो ।

गत ११ असोजमा पौडेल पक्षले उठाएका १६बुँदे मागमध्ये समायोजनको मुद्दा पनि महत्वपूर्ण एक हो । अन्य राजनीतिक दलबाट प्रवेश गरेका नेता–कार्यकर्तालाई विधानबमोजिम पारदर्शी रूपमा सदस्यता दिनुपर्ने पौडेल पक्षको माग थियो । विधानबमोजिम तल्ला तहबाटै सिफारिस भएर आएपछि मात्रै सदस्यताको टुंगो लाग्ने गरी नीतिगत सहमति भएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए । ‘नीतिगत निर्णय भएको छ, तर मुख्य कुरा व्यवहारको हो । अब त्यसको व्यावहारिक कार्यान्वयन कसरी हुन्छ ? भन्ने कुरा हो,’ जोशीले भने ।

कांग्रेसमा क्रियाशील सदस्य नै स्थानीय तहमा क्षेत्रीय प्रतिनिधि चयन गर्ने मतदाता हुन् । उनीहरूबाट चयन हुने क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्ने र तिनै महाधिवेशन प्रतिनिधिले केन्द्रमा पदाधिकारीसहित सदस्यहरू चयन गर्ने व्यवस्था छ । त्यहीकारण हरेक महाधिवेशनको मुखमा कांग्रेसमा क्रियाशील सदस्यता विवादको जड बन्दै आएको छ ।०७४ को चुनावताका विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलीन भएको थियो । त्यस्तै अखण्ड नेपाल, अखण्ड नेपाल समानान्तरलगायत साना पार्टीहरूसमेत कांग्रेसमा विलीन भएका थिए । त्यही सूचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवेश गरेका सुनीलबहादुर थापासहितको समूहसमेत पर्छ । गच्छदार पार्टीको उपसभापतिमा र थापा सहमहामन्त्रीमा मनोनीत भएका छन् ।

सभापति देउवाले अन्य पार्टीबाट आएका दर्जनौँ नेतालाई पार्टीको केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनीत गरेका छन् । राप्रपाबाट नेता थापासँगै कांग्रेस प्रवेश गरेका विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), किरण गिरी (काठमाडौं), बाबुराम बस्नेत (भोजपुर), रामप्रसाद भट्टराई (मोरङ), वृजलाल यादव (बारा) र टिएन योगी (ललितपुर) सदस्यमा मनोनीत भएका छन् ।

यस्तै, राप्रपाबाटै आएका दिलीप राई झापा, आशाराम चौधरी कैलाली र राजेशबहादुर सिंह कपिलवस्तुलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । जसमा राजपाबाट प्रवेश गरेका सर्लाहीका जंगीलाल राय र राप्रपाबाट आएका डोल्पाका कर्णबहादुर बुढा केन्द्रीय सदस्य मनोनीत भएका छन् भने माओवादी छाडेर आएका सर्लाहीका शम्भुलाल श्रेष्ठ, डडेल्धुराका जनकलाल कलौनी, समाजवादीबाट आएका कपिलवस्तुका अभिषेकप्रताव साह, एमालेबाट आएका कैलालीका मोहनसिंह राठोर, तत्कालीन नयाँ शक्तिबाट आएका स्याङ्जाका भूमिबहादुर गुरुङ, अखण्ड नेपालका कुमार खड्का र अखण्ड नेपाल समानान्तरका दयाराम पाण्डे आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत छन् ।

समायोजन समितिले गच्छदारको पार्टीका ५१ जिल्लाका २५ हजार चार सय ६८ जनालाई क्रियाशील सदस्यताका लागि सिफारिस गरेको छ । यस्तै, सहमहामन्त्री सुनीलबहादुर थापाले क्रियाशील सदस्यताका लागि ४८ जिल्लाका दश हजार सात सयजनाको नामावली बुझाएका छन् । त्यसबाहेक सबैजसो जिल्लाबाट अन्य पार्टीबाट प्रवेश गरेकाहरूको विवरण प्राप्त हुने क्रम रहेको र सूची तयार भइरहेको कांग्रेसका सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

आजदेखि दोस्रो चरणको आन्दोलन
संसद् विघटनको विरोधमा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसको दोस्रो चरणको आन्दोलन शनिबारबाट सुरु हुँदैछ । शनिबार सातवटै प्रदेशका ३३० वटै प्रादेशिक निर्वाचन क्षेत्रका मुकाममा विरोध प्रदर्शन र सभा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।१९ पुसमा बसेको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलन तय गरेको थियो । दोस्रो चरणमा कांग्रेसले तल्ला तहमा विरोधका कार्यक्रम राखेको छ । पहिलो चरणमा कांग्रेसले यसअघि १३ पुसमा १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको थियो । नयाँ पत्रिका दैनिकबाट