चीनले कोरोना भाइरस विरुद्ध बनाएको खोप प्रयोग गर्न अनुमति

चीन, चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्न अनुमति दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोप प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो ।

बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सो खोप अब चिनियाँहरुले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन् । त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रुपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ ।

चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो । उक्त कम्पनीद्धारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको थियो । सो परीक्षण पछि पछिल्लो पटक आएको यसको प्रभावकारिताको परिणाममा यस खोपको ७९।३४ प्रतिशत सम्म काम गर्ने भनेर यसको प्रभावकारिता देखिएको पाइएको थियो ।

त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो । बिहीबारबाट सो खोप चीनमा सार्वजनिक रुपमा प्रयोगमा ल्याइने बताइएको छ ।उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभाकारी देखिएको जनाएपछि त्यसको भोलिपल्ट नै अर्थात् बिहीबार मात्र चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् ।

चीनमा अरु पनि केही खोपहरु परीक्षणमा रहेका बताइएको छ । अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोगमा ल्याउने भन्दै यसको तयारी गरिराखिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारहिरुले बताएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरसको महामारी सुरु भएको थियो ।