प्रधानमन्त्रीका बाबुले नै नागरिकता त्याग्ने घोषणा

काठमाण्डौ, छोरो देशको प्रधानमन्त्री छ तर बाबुलाई छोराको शासन शैली मन नपरेर देशको नागरिकता त्याग्ने घोषणा गरेका छन् ।
बेलायती प्रधानमन्त्री बोरिश जोन्सनका बुवा स्टेन्ली जोनसनले ब्रिटेनको नागरिकता त्यागेर फ्रान्सको नागरिकता लिनको लागि प्रकृया शुरु गरेको बताएका छन् । उनको प्रतिकृया सार्वजनिक भएसंगै बेलायत र सिंगै युरोपभर त्यसले विशेष चर्चा पाएको छ ।

उनले स्थानीय संचारमाध्यमहरुसंग कुरा गर्दै आफ्नी आमा फ्रान्समा जन्मिएकाले आफू फ्रेन्च नागरिकको रुपमा वांकी जीवन विताउने निर्णयमा पुगेको बताए । उनी बेलायत युरोपियन युनियनमै रहनु पर्ने पक्षमा रहेका थिए । तर, उनका छोरा बोरिस भने बेलायतले युरोपियन युनियनबाट बाहिरिने अभियानको नेतृत्व गरेका थिए र अन्ततः प्रधानमन्त्रीका रूपमा उनैले इयूबाट ब्रिटेनलाई बाहिर निकाले । त्यहीकारण स्टेन्ली जोनसन छोरासंग रिसाएका थिए ।

स्टेन्ली जोनसनले सन् १९७९ मा युरोपेली संसद्को सिट जितेका थिए । त्यति बेला उक्त संसद्को पहिलो पटक प्रत्यक्ष निर्वाचन भएको थियो । त्यही कारण प्रधानमन्त्री जोनसनले आफ्नो बाल्यकालको एउटा समय ब्रसल्समा बिताएका थिए ।बीबीसीका अनुसार ब्रेक्जिटको मुद्दाले जोनसन परिवारलाई विभाजित पारेको छ । पत्रकार रहेकी प्रधानमन्त्रीकी बहिनी रचेन जोनसनले सन् २०१७ को चुनावअघि कन्जर्भेटिभ पार्टी छाडेर ब्रेक्जिटविरुद्ध विरोधमा उत्रिएकी थिइन् ।

कन्जर्भेटिभ दलकै सांसद रहेका भाइ जो जोनसनले इयूसँग नजिकको सम्बन्ध राख्ने विषयमा आफ्नो समर्थन दर्साउन सन् २०१८ मा मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए। सन् २०१६ को जनमतसङ्ग्रहमा उनले इयूमै रहनका लागि मतदान गरेका थिए। उनले आफ्नी आमा फ्रेन्च आमाबाटै फ्रान्समा जन्मिएको बताउँदै थपेः म सधैँ युरोपेली रहनेछु।