भुक्तानी माग्दै माइतीघरमा आन्दोलनरत सर्लाहीका उखु किसानको निधन

काठमाडौँ, उखुको भुक्तानी माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको छ । ६४ वर्षीय यादवको मगलबार गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार यादवलाई मंगलबार बिहान छाती दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा भर्ना गरिएको थियो ।मंगलबार बिहान यादवले ‘मलाई गाह्रो भयो’ भनेर साथीलाई भनेपछि उनलाई अस्पताल लगिएको थियो । हेल्पिङ ह्यान्ड्सका डाक्टरले अवस्था नाजुक रहेको भन्दै गंगालाल अस्पतालममा रिफर गरेका थिए ।
यादवले अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो । उखु बेचेको भुक्तानी माग गर्दै उनी पनि माइतीघरमा आन्दोलन गरिरहेका थिए । ४ दिनअघि उनले अन्नपूर्ण मिलबाट १ लाख ६० हजार रुपैयाँ मात्र पाएका थिए । उनले बैंकबाट १८ लाख रुपैयाँ ऋण लिएका छन् । ब्याजसहित उनले बैंकलाई तिर्नुपर्ने रकम करिब २२ लाख पुगेको उनका नातेदार महिन्द्र राय यादवले जानकारी दिए ।

मिश्रका अनुसार आन्दोलनपश्चात उनी बासबस्न जोरपाटी जान्थे । ‘राति एक्कासि हृदयघात भयो,’ मिश्रले भने, ‘दु:खद समाचार सुन्न पर्‍यो ।’

उखु किसानहरु मसिर २८ गतेदेखि आन्दोलन गरिरहेका थिए । आन्दोलन गरेपछि उखु मिलले किस्तामा भुक्तानी गरिरहेको थियो । यादवले पनि अन्नपूर्ण मिलबाट दुई लाख भुक्तानी पाएका थिए । किसानहरु सबै रकम लिएरै मात्रै घर फर्किने बताउँदै आएका थिए ।

संघर्ष समितिले सोमबार सरकारसँग ४ बुँदे सहमति गरेपछि मगलबारदेखि आन्दोलन स्थगित भएको छ । यसअघि सरकारबाट धोका खाएका किसानहरु अहिले पनि रकम पाउनेमा विश्वस्त थिएनन् । ‘सोमबारसम्म आन्दोलनमा सँगै थियौँ । अन्नपूर्णले १ लाख ६० हजार बुझाएको थियो । केही रकम मंगलबार दिने आश्वासन पाएका थियौँ,’ संघर्ष समितिका सचिव हरिश्याम रायले भने, ‘तर, मंगलबार दु:खद घटना भयो ।’

सोमबार सरकारसँग ४ बुँदे सहमति भएपछि यादवले साथीभाइसँग ‘अब त पैसा पाइन्न कि क्या हो’ भन्दै प्रदेश सभासद केदारनन्दन चौधरीलाई फोन गरेर चिन्ता व्यक्त गरेका थिए ।

उखु किसान संघ नवलपरासीका महासचिव गोपाल यादवले सरकारसँग क्षतिपूर्ति माग्ने र चिनी उद्योगले नारायण राय यादवलाई तिर्न बाँकी रकम तत्काल तिर्नका लागि पहल गरिने बताए । कान्तिपुर