‘ओलीविरुद्ध जनताले अर्को ठूलो आन्दोलन गर्नुपर्ने बेला आयो’

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लामो संघर्षबाट बनेको संविधान विपरित संसद भंग गरेर त्यसलाई च्यातेको र उनका गलत कदममा लाहा छाप लगाउने काम राष्ट्रपति विद्यादेबी भण्डारीले गरेको आरोप एक कार्यक्रमका वक्ताहरुले लगाएका छन् ।

सोमबार राजधानीको संवाद डबलीमा ‘नयाँ पार्टी नेपाल’द्वारा ‘नेपालको राजनैतिक अवस्था र त्यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले ओलीको संवैधानिक ‘कु’विरुद्धमा जनआन्दोलन–३ को आवश्यकता भएकोसमेत बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन र त्यसबाट भएको संवैधानिक ‘कु’लाई सच्याएर देश जोगाउने जिम्मेवारी सर्वोच्च अदालतको हातमा रहेको बताए ।

त्रिपाठीले कुनैपनि हालतमा संसद पुर्नस्थापना हुनु पर्ने र अदालतले त्यो गर्ने विश्वास व्यक्त गर्दै भने, ‘ओली स्टेप वाई स्टेप असंवैधानिक र अराजनीतिक कदम चाल्दै जानुभएको छ, त्यसलाई राष्ट्रपति रवर स्ट्याम्पको भूमिका खेल्दै हुनुहुन्छ सो कार्य रोक्न जनताले अर्को ठूलो आन्दोलन गर्नुपर्ने बेला आएको छ ।’
उनले अगाडी थपे, ‘उहाँ विस्तारै थप तानाशाही र निरङ्कुश बन्दै जानुभएको छ, यस्तै हो भने उहाँको अबको स्टेप भनेको संकटकाल लगाएर मिडियाहरुमासमेत सेना पठाउनु हुन्छ, हामी सतर्क बनौं ।’
त्यसैगरी अर्का वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले प्रधानमन्त्री ओलीले आफ्नो विवेकले भन्दा पनि विदेशी शक्तिहरुको कठपुतलिकारुपमा उनीहरुको स्वार्थअनुरुप संसद विघटन गरेको आरोप लगाए । कार्कीले भित्रभित्रै देशमा खतरनाक षड्यन्त्र चलेको र देश गम्भिर संकटमा जानसक्ने चिन्ता व्यक्त गरे ।

त्यसैगरी वरिष्ठ पत्रकार प्रेम कैदीले वर्तमान शासकहरुले देशलाई निरन्तर परनिर्भरता तर्फ डोर्याइरहेकोले नेपाली जनता चनाखो हुनुपर्ने बेला आएको बताए ।
त्यस्तै, सीमाविद बुद्धिनारायण श्रेष्ठले हाम्रो देशमा हुने राजनीतिक अस्थिरताको फाइदा विदेशीहरुले उठाउने गरेको बताउँदै, ओली सरकारले नेपालको चुच्चे नक्सा सार्वजनीक गरेपनि त्यसको कार्यान्वयन पक्षमा भने परिणाम शून्य हुनु दुर्भाग्य भएको धारणा राखे ।

त्यसैगरी, प्राध्यापक डाक्टर खेमबन्धु कोइरालाले देशमा लोकतान्त्रिक स्वतन्त्रता आएको तीस वर्षमा नेपाली नेताहरुले देशलाई दिनप्रतिदिन परतन्त्रता तिर धकेल्दै गएकोप्रति आक्रोश व्यक्त गरे ।
ग्रेटर नेपालका अभियान्ता ड सुरेन्द्र ढकालले विदेशी चलखेल हुनसक्ने प्रति सजग रहनु पर्ने बताए ।