विश्‍वका १०० उत्कृष्ट नर्सको सूचीमा नेपालका ४ जना

काठमाडौँ, विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना नर्स छनोट भएका छन् । नर्स तथा मिडवाइफ अन्तराष्ट्रिय वर्ष २०२० का अवसरमा अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा नेपालका ४ जनासहित १०० जनालाई सूचीकृत गरेको हो ।

सूचीमा नेपालका २ जना नर्स तथा २ जना मिडवाइफ १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल भएका हुन् ।कोरोना महामारीको समयमा मिडवाइफ तथा नर्सहरु अग्रपंक्तिमा खटिएर बिरामीको सेवा गरेबापत सूचीमा सूचिकृत गरिएको वुमन इन ग्लोबल हेल्थ नामक संस्थाले आफ्नो वेबसाइटमा राखेको छ ।

१०० जना उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालबाट मिडवाइफ प्रशंसा बुढा लामारुकुमणी त्रिपाठी, नर्स दुर्गा सापकोटासुष्मा योञ्जन रहेका छन् ।

प्रशंसा बुढा लामारुकमणी त्रिपाठी नेपालको पहिलो ब्याचका मिडवाइफ हुन् । मिडवाइफ प्रशंसा बुढा लामाले उत्कृष्ट सूचीमा परेकोमा एकदमै खुसी लागेको बताइन् ।

रुक्मणी त्रिपाठी

लामा र त्रिपाठीले कोभिड–१९ को समयमा अनलाइन तथा टेलिफोनमार्फत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी निस्शुल्क परामर्श दिँदै आइरहेका छन् । प्रशंसा भन्छिन्, ‘हामीले सुरुमा आफ्नै तवरले हेल्पलाइन सेवा सुरु गरेका थियौँ र पछि अरु संस्थाले पनि सहयोग गरे । यो सेवाले धेरैलाई सहयोग पुर्‍याएको जस्तो लाग्छ ।

त्यसैगरी नर्स दुर्गा सापकोटा स्वास्थ्य अधिकारसम्बन्धी वकालत गर्दै आएकी छिन् । उनी कानुनकी विद्यार्थी पनि हुन् । सापकोटा यौन तथा प्रजनन, मातृ तथा नवजात शिशु र किशोर किशोरीको स्वास्थ्य क्षेत्रमा लागेको १० वर्ष भइसकेको छ ।

दुर्गा सापकोटा

दुर्गा भन्छिन् मैले विशेषतस् पिछडिएका वर्गहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि काम गर्दै आएको छु । किशोरशोरीहरु तथा महिलाहरुलाई जनचेतना जगाउने काम गर्दै आएकोले सूचीमा राखिएको होला ।

त्यस्तै उत्कृष्ट सूचीमा परेकी नर्स सुष्मा योञ्जनले नवजात शिशु, महिला तथा किशोरकिशोरीका समस्या तथा पोषणसम्बन्धी व्यवस्थापनको काम गर्दै आएकी छिन् । महिला स्वयंसेविकाहरुसँग मिलेर उनले पोषणसम्बन्धी परामर्श दिने गरेकी छिन् ।