प्रहरी र सशस्त्र प्रहरीको भर्नामा ३१ गुणा बढीसम्म आवेदन

काठमाडौं, दुई सुरक्षा निकायको भर्नामा यस वर्ष उच्च आवेदन परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको भर्नामा गत वर्षभन्दा २० गुणासम्म बढी आवेदन परेको हो । नेपाल प्रहरीको जवानमा गत वर्षभन्दा करिब १८ गुणा बढी आवेदन परेको छ । गत वर्ष ६ गुणा बढी मात्र आवेदन परेको थियो । यस वर्ष पाँच हजार दुई सय २७ पदमा भर्ना खुलाइएको थियो, जसमा ९३ हजार एक सय ६९ आवेदन परेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १५ हजार एक सय ४२ आवेदन परेको छ । यस्तै, सुदूरपश्चिममा १४ हजार सात सय ९८, प्रदेश–१ मा १४ हजार दुई सय ८६, कर्णालीमा १० हजार एक सय ५५, प्रदेश–२ मा नौ हजार सात सय ५३ र उपत्यकामा आठ हजार सात सय ३९ वटा आवेदन परेका छन् ।बागमती प्रदेशका उपत्यका बाहिर जिल्लामा चार हजार तीन सय ७६ वटा आवेदन परेका छन् । प्रहरी भर्नामा सबैभन्दा कम आकर्षण गण्डकी प्रदेशमा देखिएको छ, जहाँ ६ हजार एक सय ८० मात्र आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत वर्ष नेपाल प्रहरीले ६ हजार दुई सय ४४ जवान माग गरेकामा ४१ हजार सात सय ९६ मात्र आवेदन परेको थियो ।

प्रहरीमा महिलाको आकर्षण पनि बढेको छ । यस वर्षका आवेदकमध्ये १९ हजार एक सय चार जना महिला छन् । आवेदन बढ्नुले प्रहरी जागिरमा आकर्षण बढेको देखिने प्रहरी प्रवक्ता एसएसपी कुँवर बताउँछन् । कोभिड–१९ संकटका कारण अन्यत्र अवसर कम भएकाले पनि आवेदन बढेको हुन सक्ने प्रहरी आंकलन छ ।सशस्त्रमा १८ सय माग, ५६ हजार आवेदन
सशस्त्र प्रहरीमा करिब ३१ गुणा बढी आवेदन परेको छ । एक हजार आठ सय ३३ पदमा माग भएकामा ५६ हजार चार सय ६३ वटा आवेदन परेका छन् । गत वर्ष थोरै आवेदन परेकाले सशस्त्र प्रहरीले पटक–पटक म्याद थप्नुपरेको थियो ।

साथै, लिखित परीक्षामा मागभन्दा थोरै उत्तीर्ण भएका थिए । ‘गत वर्षभन्दा यस वर्ष आवेदन धेरै गुणा बढी छ,’ सशस्त्र प्रहरी प्रवक्ता डिआइजी राजु अर्यालले भने । आवेदन बढाउन यसपटक सशस्त्र प्रहरीले पहिलो पटक ७७ जिल्लाबाटै फारम भर्न सक्ने व्यवस्था मिलाएको थियो ।सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार हिमाली जिल्लाहरूबाट भर्नामा थप प्रोत्साहन गरिएको छ । हिमाली जिल्लाहरूमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भइरहेको र त्यहाँ काम गर्न स्थानीय जनशक्ति हुँदा सहज हुने भएकाले सशस्त्र प्रहरीले यस्तो रणनीति बनाएको हो ।

कोभिड–१९ महामारीपछि आर्थिक क्षेत्रमा परेको असरले पछिल्लो समय बेरोजगारी बढ्दो छ । सोहीकारण सरकारी जागिरमा आकर्षण बढेको आकलन गरिएको छ । प्रहरीमा सबै तहको भर्नामा करिब आठ वर्षयता लोकसेवा आयोगले नै लिखित परीक्षा लिन्छ । त्यसयता प्रहरी भर्नामा निष्पक्षता हुने भएकाले सर्वसाधारणको विश्वास समेत बढेको छ । नयाँ पत्रिका दैनिकबाट