चोटैचोटले थलिएको भिषणको घतलाग्दो जीवन कथा

साहेद जब जिन्दगीमा अनपेक्षित घटना घट्छन भने त्यहाँ भौतिकवादको रसायनयुक्त चक्की दैनिक ज्युनार गर्ने व्यक्तिनै भएपनी कहिँकतैबाट चिप्लिएर भएतापनी भाग्यवादलाई स्विकार गर्न सक्ने स्थितिमा पुगिछाड्छन। जिन्दगीनै त्यस्तो चिज हो जहाँ अनेकौं वाद र प्रतिवाद ढुङ्गा र माटो जसरीनै एकअर्काको भरोसामा अडिएर मुर्त स्वरुप खडा गरेका हुन्छन। त्यही मुर्त स्वरुप हो जिन्दगी। हो! जिन्दगीमा अनेकौं वादहरु जन्मिन्छन अनि मर्छन, मिल्छन अनि छुट्टिन्छन। त्यो जिन्दगीमा घटित हुने घटना अनि बाचिने जिन्दगीको अमुर्त तर तटस्थ अनुभुतीले निर्धारण गर्ने कुरा हो। हुनत उनले आफ्नो जिन्दगीलाई कुनै वाद सँग जोडेनन। न यथार्थवाद न त भाग्यवादनै। बस् उनले सुनाए अनि मैले सुनेँ र समानुभुत गरेँ अनि अन्यौलग्रस्त भएँ। आखिर उनको जीवन लाई कता जोडौँ? भाग्य तर्फ या स्वभाविक यथार्थ भौतिकवाद तर्फ? त्यसको जिम्मेवारी पाठकवर्गको हातमा सुम्पेको छु।

संघर्षरत जिन्दगीका दु:खद तर पेरक कथाहरू खोजी गर्ने क्रममा म पुगेको थिएँ त्यो आँगनमा जहाँ उमेर ढल्किसकेका लगभग ५५/६० बर्ष पार गरिसकेको जस्तै देखिने प्रौढ जस्तो न वृद्ध जस्तो देखिने व्यक्तित्व पाइपलाईन मिलाउनमा व्यस्त थिए। इस्टकोट, सर्ट पाइन्ट र शिरमा सगरमाथाको आकृति झल्काउने ढाका टोपी लगाएका उनी हेर्दैमा राजनीतिक व्यक्तित्व जस्तै प्रतीत हुन्थे। हुनत उनको जिवनयात्राको छोटो तर कठिन कालखण्डको प्रसंग सुनेरनै उनिसम्म पुगेको थिएँ तर जब भेटेर भलाकुसारिमा फस्यौँ तब उनी बिल्कुलै भिन्न लाग्न थाले। उनको जिवनयात्रालाई उनले दिएकै वृतान्त अनुकुल राख्ने प्रयास गरेको छु।

जिन्दगीको अवतरण तथा दुष्कर घुम्तिहरु:

जाजरकोट जिल्ला बारेकोट गा.पा वडा ४ स्थितको गोठगाउँ भनिने गाउँमा जन्मिएका उनी भीषण दु:ख र आपत्तिहरुको जकडमा पुर्वार्धमै जकडिन पुगे। हुनत जन्म र मृत्यु आफ्नो हातमा छैन यो विशुद्ध प्रारब्धमा निहित छ तर मैले बुझेको प्रारब्धले कोहिलाई विभेद अवश्य गर्दैन तथापी अपवादनै मान्नुपर्छ उनको जिन्दगीको सुरुवातीमै भाग्यले कोल्टो फेर्‍यो। वि. सं २०२१ मा जन्मिएका उनी शिशु कालमै आमाको काखको न्यानोले शरीर राम्रोसँग तात्न नपाउँदै अनि वक्षको धाराले तृप्त हुन नपाउँदै आमानै परमधाम जानुभयो। उनी जतिबेला सिर्फ एघार महिनाको नाबालक थिए। बाल मस्तिष्कले आमाको अनुहारको राम्ररी पहिचान सम्म गर्न पाएको थिएन तर त्यो अनुहारनै सदाको निम्ति अलप भइदियो कलकलाउँदो नाबालक छोरालाई चटक्कै छोडेर। “हुने हार दैव नटार”। हुनत म स्वयं पनि भाग्यवादमा उति आस्था नराख्ने मान्छे हुँ तथापि उनको जिन्दगीको यो अप्रीय घटना र परिस्थितिले गरेको भेदले भाग्यवादको सिद्धान्त तर्फपनी जबर्जस्ति झुक्न लगाएको छ।
दस सन्तान जन्मिएको भएतापनी उनी र उनका दुई दिदी बाहेकका कोहि बचेनन। उनी बचे अन्तिम सन्तान भएर तर आमाको न्यानो स्पर्श र भारि ममताको छालको अनुभुती र त्यसको स्वाद, गन्ध बुझ्नै पाएनन् । दुधे बालक काखमा राखेर उनका पिता एक्लैले तीन सन्तान र आफ्नो सहित चार जिन्दगीको अभिभारा शिरोपर गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइलाग्यो जसलाई उनले नकारेनन पनि। के गर्नु नियती त्यस्तो निष्ठुर बनिदियो अनि भाग्यमा ग्रहण लागिदियो। बिचरा उनी सानो मान्छेले परिस्थिति के बुझ्थे र यदि बुझिहाल्ने भएपनी पेटले के बुझ्नु? उ त खोजिमात्र रहन्छ। उनको दुधे घाँटिको प्यास मेटाउन अनि भोको पेट भरिदिन सहज थिएन तब आमाको दुधको अधिकार बाट बञ्चित भैसकेका उनलाई दूध हरकोहि सुत्केरी महिलाले खुवाए। आमाको छाती चुस्नुपर्ने उनले काकी, दिदी, माइजू, भाउजू या हरकोही नाता लाग्ने नलाग्ने, थर गोत्र मिल्ने नमिल्ने जतिसुकै दूध दिनसक्ने स्त्री पाएक पर्थे ती सबैको छाती चुसेरनै जिन्दगीको त्यान्द्रो चुडिन बाट बच्न सके। अधर्मको युगमा धर्मको संकेत देखिएकै हो ती महिलाहरुको कारुणिकता र उदारताले तर यो सबैको श्रय उनको पिताजी लाई नै जान्छ।

त्यो अस्वभाविकताबाट पनि उदाएका अनि प्रतिकुलताको हुण्डरिले ढाल्नबाट जोगिएका उनले जिन्दगीको स्वादमा मिठो भन्दा धेरै तितोको अनुभव गरे। एघार महिना देखि उन्नाइस बर्ष पुगुञ्जेल सम्मको उनको जिवनपथ पिताकै एक्लो शरिरमाथी गुज्रीयो। ग्रामीण क्षेत्रको अपरिवर्तित सोच, अनुपलब्ध शैक्षिक व्यवस्था तथा कमजोर पारिवारिक आर्थिक स्थिती इत्यादि कारणवश औपचारिक शिक्षाको पहुँच भन्दा परै रहेकोे भएतापनी प्राथमिक तह सम्मको शैक्षिक उपलब्धि हासिल गर्नसम्म समर्थ भए। त्यतिसम्मको शैक्षिक उपलब्धि प्राप्त गर्न पनि कमता असहज थिएन उबेला तैपनि उनको पिताको संघर्ष र बलिदानिले त्यहाँसम्म पनि सम्भव बनायो। उनको जिवनयात्राको सुन्दर घुम्ती अर्थात उन्नाइस बर्षको उमेरमा बिहे गरे तर बिडम्बना एघार महिनादेखि केवल आफ्नो पाखुरी र पसिनाको भरले चार जिन्दगी थेग्दै आएका उनको एउटै खम्बा अर्थात पिताजीले पनि थप जिन्दगीको जिम्मेवारी उनको काँधमा बिसाउँदै संसारको रित स्वीकार गर्दै परमपद ग्रहण गरे।

फुल्दैको जिन्दगीमाथी समयको असिना:

अबोध थिए, आमाले छोडिन अनि उनले स्वीकार गरे। जिन्दगीका कठिन भन्दा कठिन मोडहरु स्वीकार गरे। एउटै आसा भरोसा भएका पिताले छोडे त्यो पनि स्वीकार गरेर आफ्नो जीवन सँगिनी सँग सहकार्य गर्दै जिन्दगीको अनिश्चित गन्तव्यमा ढलपलाउँदा पाइलाहरु बढाइरहेका थिए। हाँसो आँसु पीडा खुशी सबै साट्दै थिए आफ्नै जीवन सँगिनी सँग अनि साथै जिन्दगीका चुनौतीपूर्ण तर सदाबहार औपचारिक कदमहरु चालिरहेका थिए। अकस्मात देशको राजनीतिक अस्थिरता तथा अशान्तीको रक्तपात बोकेको रहस्यमय बादलको छाया उनिमाथी पनि पर्‍यो। हुनत देशका हरेक जनताले कोहीन कोहि दलको सदश्यता लिएकै हुन्छन् चाहे त्यो सिद्धान्त र एजेन्डा बुझेर होस या चाहे आफ्नो व्यक्तिगत स्वार्थ र अवसरको जकडमा परेर, अथवा चाहे अन्जान र अनास्थामै होस्। उनमा पनि नेपाल कम्युनिस्ट पार्टी माओवादी प्रतिको कुनै जानकारी वा त्यसको एजेन्डा र उदेश्यको पर्याप्त बोध बिनानै त्यसमा संलग्नता थियो। सुरुमा राप्रपा, जनमोर्चा र संयुक्त जनमोर्चा हुँदै माओवादी सम्म जोडिन पुगेका उनी अकस्मात अनपेक्षित परिस्थितिमा मुछिन पुगे।

वि.सं २०५२ साल फागुन १ गते देशव्यापी रुपमा जब जनयुद्धको घोषणा गर्‍यो नेकपा माओवादीले तब उनमा एक प्रकारको त्रासको उपस्थितिले जकड्यो। देशमा बमको आवाज र बारुदी गन्धले आतंक फैलाएको बेला यो के र किन भयो भनेर रनभुल्लमा पर्ने सँगै डरको कारण सक्रियताबाट अझै दुर रहे। “खाइ न पाई छालाको टोपी लाई” भनेजस्तै त्यो रक्तपात बाट टाढै र सान्त रहन चाहेको उनलाई नियतिले फसाइदियो जनयुद्धको गहिरो भुमरीमा। सुरुवातिमा पार्टीका अगुवाहरूले उनलाई एउटा कामको भुमिका लिनैपर्छ भन्दा उनले त्यहाँ संचारको भुमिका निर्वाह गरे। सदरमुकाम बाट पत्रीकाहरु बोकेर बारेकोटमा पुर्‍याउँथे। जनयुद्धको तुवाँलो फैलिए सँगै ०५२ फागुन २४ गतेनै उनी पक्राउ परे करिब साढे ४ करोडको डाँका चोरिको मुद्दामा। माओवादी द्वारा कब्जा गरिएको उक्त घरको मामिलामा उनी संलग्न नभएतापनी मुछिए माओवादी कार्यकर्ता भएकै कारण। चैत ६ गते मात्र उनलाई जाजरकोट हिरासतमा पुर्‍याइयो तब सुरु भयो उनका कालरात्री सरहका कठिन तथा काला दिनहरू।

चैत ६ देखि बैशाख ६ सम्मको समयावधि उनको हिरासतको क्रूर शारीरिक र मानसिक यातना बिचमै बित्यो। पूरा एक महिनाको समय, जुन समय उनले हिरासतमा बिताए। हिरासतका दिनहरूनै थिए जिन्दगीकै सबैभन्दा असहज दिनहरू। अझ भनौं निस्सासिदा कहालिलाग्दा दिनहरु जसलाई आज पनि सम्झिदा उनले शरीरमा काँडा उम्रेको अनुभुती गर्छन अनि उबेलाका कठोर बज्र सरहका निर्मम र घातक चोटहरु परेका शरीरका प्रत्येक अंगअंगका सेलाइसकेका घाउहरु पुनः बल्जिएको र पोलिरहेको अनुभुती गर्छन। त्यही समय थियो जसले उनका दुवै हातका सक्षमतालाई लुटेर असक्षम बनायो जुन हातहरुले आज दैनिकी चलाउन पनि बडो दुस्कर भइरहेको छ। खुट्टाको औंला भाँचियो त्यही समयले। हो त्यो त्यही समय थियो जसले भिम ब. सिंह उर्फ भीषणको जिन्दगीमा भीषण बज्रपात ल्याइपुर्‍यायो जसको नतिजा आजसम्म भोग्नु परेको छ। आजसम्म मात्रै होइन, सम्भावना छ यो तबसम्म भोगी रहनेछन जब सम्म जिन्दगी रहने छ।

हिरासतका ती काला दिनहरुलाई सम्झिदै उनले भनेका थिए “पीडाहरु त कतिकती, लठ्ठी र बुटहरुका निर्मम प्रहार अनि उनीहरुका मुखहरु द्वारा उच्चारित अशुद्ध र अश्लील शब्दहरु, त्यसैमाथी माओवादी भन्दै दिइने मानसिक यातना। महिना दिनसम्मको खाना केवल दुई किलो चिउरा। त्यही खानपनी मुखमा तरल पदार्थ नहुँदा घण्टौँ सम्म चपाइरहनु पर्ने। मामाघर भन्थे तर कालकोठरी भन्दा के फरक।” आज उनको शरीर सिथिल र काम गर्न नसक्ने छ। उनको निम्ति आफ्नो शरीरले दैनिकी गर्न पनि ममता असहज छैन। उनले बिताएको जेल जिवनको चार बर्ष भन्दा कयौं गुणा दुस्कर थिए हिरासतका दिनहरु। तिनै दिनमा उखेलियो उनको शिरको केशहरु। त्यही हिरासतका मान्छे जस्तै तर क्रूर स्वभावका जिवहरुको प्रहारले थल्यायो उनको शरीर तब मात्र जेलको चार बर्ष केही सहजतामा बिताए। हुनत जेल हो के सहज हुनु र तैपनि हिरासतको क्रूर शारीरिक यातना त्यहाँ थिएन।

मुक्त जीवनको पालुवामा पुनः खडेरी:-

वि. सं २०५६ असारमा उनी ४ बर्षको जेल सजाय भोगेर मुक्त भए। बाहिर क्रान्तिको धुनी लागिरहेकोनै थियो। बम बारुदका आवाज र गन्धले वातावरण धुमिल थियो तथा संगिनको चमक अनि बारुदी बिस्फोटनले बिजुली चम्काइरहेकोनै थियो। त्यसैमाथी सर्वसाधारण जनताको आँखामा मृत्युु र अनिष्टको कालो मण्डराई रहेको थियो। जेल जीवन बाट मुक्त त भए उनी तर शान्ति थिएन बाहिर। रिहाई पछि उनी घर पुगे। करुणा र अपसोचका आँसुहरु बगिरहेकानै थिए। पाँच बर्षे छोरा उनको अघि देखा पर्दा उनलाई लाग्यो, यदि म मरेको भए बाबाको अनुहार चिन्ने छोराको आधिकारिक महत्वाकांक्षाको मुना जिन्दगीभर कहिल्यै पलाउन पाउने थिएन बरु समय सँगै ओइलिएर जाने थियो, झरेर जाने थियो।

जेल मुक्त जीवन पश्चात् उनी केही बर्ष क्रान्तिमुक्त पनि बने। उनलाई लाग्यो साहेद मैले गलत बाटो रोजेँ होला त्यसैले गर्दै नगरेको अपराधको अभियोगमा लामो समय जेल बस्नु पर्‍यो अनि घर परिवारको बिचल्ली भयो। उनले क्रान्ति र परिवर्तनको अभियानबाट आफ्नो प्रत्येक्ष सक्रियता फिर्ता लिए। आफ्नो परिवारको भरणपोषणको अभिभारा अब पुर्ण रुपले शिरोधार गरि आर्थिक उपार्जनको निम्ति भारत जाने र बाकी समय घर परिवार सँग बिताउन थाले। जिन्दगीमा आएको तुवाँलो हटेको अनुभुती गरेका थिए उनले अनि खुशी र सन्तुष्ट पनि थिए। यहि रित र प्रक्रियाले २०५९ सम्म पारिवारिक जिन्दगी भित्रै रमाए तर तत्पश्चात भने क्रान्तिकारी पार्टीले पुनः सकृय सहभागीताको अपिल गर्‍यो तथा जिम्मेवारी सुम्प्यो। उनी फेरि पनि होमिए होल टाइमर भएर माओवादी संगठनको रक्तपातयुक्त भुमरीमा। आफ्नो अशक्त शरीरको कारण टाढा जान नसक्ने कुरा जाहेर गरेपछि जिल्लाभित्रका क्षेत्रहरुमा अभियान तथा कार्यक्रम चलाउने जिम्मा दियो तत्कालीन माओवादीले।

अब फेरिपनी उनी घरबार बिहिन सरहनै भए अनि छोराछोरी पिता बिहिन सरह भए। जिन्दगी तरबारको धारमा चलिरहेको थियो बन्दुकको नाल अघि टाउको र सँगिन अघि मुटु। एकातिर घर परिवारको पिर उत्तिकै। किनभने सर्वसाधारणको छाति गोलिले छेडेर माओवादी मार्‍यौँ भनी रिपोर्ट तयार गरिरहेको तत्कालीन शाही सेना तथा नेपाल प्रहरीको क्रूर छाया कतिबेला कहाँ पर्ने थाहा थिएन। त्यसैमाथी उनको परिवार झन क्रान्तिकारी नेतृत्वकर्ताको परिवार पो त। माओवादीको नाम लिएर निस्केको गोलिले उनकै परिवार र संसार पनि ताक्न सक्थ्यो। उनी आफैँ त जिन्दगी बाजि राखेरनै निस्केका मान्छे फेरि बाजि जित्ने या हार्ने? फिर्ने या मर्ने? केही टुंगो छैन। घर परिवार र आफैसँगको यात्रा कतिबेला कहाँ टुङ्गिन्छ के थाहा? तैपनि अहोरात्र खटिए। युद्ध विराम भयो, शान्ति सम्झौता भयो अनि फर्किए। जिन्दगीको पालुवा युद्धको चर्को रापले ओइलिएको त हो तर सौभाग्य! त्यो झर्न पाएन र शान्त नेपालको कान्ति सँगै फेरि जिन्दगीको पालुवामा नयाँ उर्जा भरियो।

नयाँ पृष्ठभुमिमा जिन्दगी:-

२०५२ साल जतिबेला माओवादी पार्टीले जनयुद्धको शंखघोष गर्‍यो तब जिन्दगीको पृष्ठभुमिमा रगतको रातो पोतियो। उनको पनि अनि समग्र नेपालीको पनि। तर ०६२/६३ को आन्दोलनले उब्जाएको शान्तिको कलिलो बिजले सबैको जिन्दगीको पृष्ठभुमि बदल्यो। बारुदी गन्ध मन्द हुँदै गयो, बन्दुकका आवाजले नेपथ्य भन्दा पर काटिसके अनि देशको माटोमा मुछिएको रगत बिस्तारै भिज्दै र सुक्दै गयो। त्यसको सँगै नेपालवासी हरुको हृदयमा नयाँ जिन्दगीको उत्साह भरियो। जिवनमय उत्साह। शान्ति र हर्षको उत्साह। छोरा गुमाएको आमाको आँसु, लोग्ने गुमाएकी नारिको सुहाग तथा अभिभावक गुमाएका सन्तानको पीडा सबै देशको शान्तिको बिराटताले ढाक्यो। प्रतिस्थापन गर्‍यो।

उनी सँग परिवार छन सबै तर उनीहरुको लागि संघर्ष गर्ने शरीर भने रुग्न छ, भग्न छ। सन्तान प्रतिको एक पिताको अभिभारा पुर्णतः काँधमा राखेर धान्ने सबलता उनिमा भएन तथापी लर्खराउँदै लर्खराउँदै पनि घिसार्नुपर्ने बाध्यता छ किनकी त्यो नै उनको जिन्दगीको सबैभन्दा ठूलो जिम्मेवारी हो। जिवनपथमा गुज्रीदै गर्दा समय अनुकुल साना शरीर ठुला बन्दै गए। साना सोच फराकिला बन्दै गए अनि साना आँखाहरुमा ठुला सपना भरिदै गए। उनका सन्तानहरुका। तब पारिवारिक जिम्मेवारीमा हिस्सेदार बने उनका छोराहरू। खेतबारि सुधारे, घर सुधारे, नयाँ सामान सम्पत्ति जोडे अनि समग्रमा जिवनशैलि सम्म बद्ल्न सके उनीहरुले। त्यो पनि सम्भव भयो उनको बिद्धता र अनुभव अनि छोराहरुको जोश र लगनशीलताले।

पार्टीमा गरेको बलिदानि तथा त्यागको सम्बोधन गर्दै र उनको दुख र संघर्षको महसुस गर्दै स्थानीय तहको चुनावमा पार्टीले टिकट पनि दियो। साहेद जाजरकोट जिल्लामा उनैको परिवार एक थियो जहाँ आफ्नै ससुरा ज्वाईं बिपरित धारबाट चुनावी माहोलमा एकै क्षेत्रमा प्रतिस्पर्धा गर्न उत्रिए। वाम गठबन्धन बाट उनी अनि प्रतिपक्षी बाट उनका आफ्नै ज्वाइँ। कान्छी छोरिका श्रीमान्। तर अपसोच उक्त प्रतिस्पर्धाले दुवैलाई पराजय दिलायो। त्यो हारबाट मात्रै पनि उनको राजनीतिक यात्रा सकिने छैन। किनकि जीवन त्यही यात्रामा आधा भन्दा धेरै बितेको छ। हिजो उनी पार्टीमा नबुझेरै लागेका भएतापनी आज भने स्पष्ट छन र स्पष्ट लक्ष्य पनि छ। सर्वहारा वर्ग र मज्दुर किसानको मुक्ति, सुशासन र मैत्रीपुर्ण शान्ती सुव्यवस्था अनि भ्रष्टाचार र कालोबजारी बिहिन संयन्त्र। उनी त्यही यात्रामा छन्। हुनसक्छ उनलाई त्यो मुकाम हासिल गर्न थप समय लाग्नेछ किनभने उनी नेताप्रधान लाई नकारेर नीतिप्रधान लाई आत्मसात गर्ने कुशल नेतृत्व हुन।

भौतिक परिश्रम गर्ने क्षमता त उनिमा रहेन किनकी जेल जिवनले जिर्ण बनाएको शरीर समय सँगै झनै शिथिल र जिर्ण हुँदै छ तर बौद्धिक अभ्यास गर्न भने उनको अनुभवले झनै सशक्त बनाउँछ। तर त्यसैमा पनि बाधा अड्चन भने कति कति। आधा शरीर हराइसकेका उनिले आफ्नो सोच र बिचारका बलेसिहरु बोकिदिने तथा पारिवारिक जिम्मेवारीमा हिस्सेदार भइ जीवन सञ्चालनमा सहजता ल्याइदिएको जेठो छोरा पनि एक बर्ष पहिले गुमाउन पुगे। छोरिहरु त आफ्नो पृथक जिन्दगीमा स्थापित भैसकेका छन तर बाकी दुई छोराहरू भने अझै बेग्लै जिन्दगी स्थापित गर्न बाकी छ। साथमा जेठो छोराका साना तीन लालाबाला अनि कलिली बिदुवा बुहारी। सबैको अभिभारा फेरि त्यही वृद्ध शरीरमाथी आयो। हुनत अबको पारिवारिक जिम्मेवारीको हिस्सा दुई छोरामा पनि छ तर उनीहरु उति परिपक्व पनि त भैसकेका छैनन्। आर्थिक भार कसरी सम्हाल्ने अनि सामाजिक जिम्मेवारी कसरी ? एकपटक फेरि उनको जिन्दगीको पृष्ठभुमि जटिल बनेको छ। बुढेसकालमा सुखभोगी हुनेबेला दुखको भरिया बन्नुपर्ने स्थिती सृजना भयो। आसा गरौं उनको यो कठिन पृष्ठभुमि सहज र सरल बन्ने छ र कामना पनि गरौं उनी यो समाज साथ र परिवर्तनको यात्रामा अझै लामो समय लागिरहन सक्ने वातावरण निर्माण होस। अन्तमा तपाईंको तर्क के लाग्छ? उनको जिवनमा भाग्यको प्रभाव बढी या फेरि स्वभाविक घटना परिघटना??