अफगानिस्तानमा रकेट हमलामा परि ८ जनाको मृत्यु

काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जनाको मृत्यु भएको छ । हमलामा परि ३१ जना घाइते भएका छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला भएको थियो ।शनिबार बिहान स्थानीय समय अनुसार ९ बजे उक्त आक्रमण भएको हो । गृहमन्त्रालयका प्रवक्ता तारिक अरिअनले यस घटनालाई तालिबानी ‘आतंकवादी’ हमला भएको आरोप लगाएका छन् । तारिकका अनुसार जहाँ २३ वठा रकेट हानिएको थियो । केही घाइतेहरुको अवस्था गम्भीर छ ।

घटनापछि स्थानीय बासिन्दा र स्कुले विद्यार्थीहरुको भागदौड मच्चिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेका छन् । पछिल्लो केही साताको अन्तरमा काबुलमा मात्रै भएका विभिन्न आक्रमणमा ५० जनाको मृत्यु भइसकेको छ । अफगानिस्तानमा २० वर्षदेखि नै युद्धरत सशस्त्र समूह तालिबानसँग अफगान सरकारको चरणवद्ध वार्ता भइरहेको छ ।

यद्यपि दुबै पक्षबाट सम्झौता उल्लंघन गर्ने काम भइरहेको छ ।सरकारले भने यस्ता प्रकृतिका आक्रमणमा तालिबान समूहलाई आरोप लगाउने गरेको छ । त्यसो त, यसअघि पनि दूतावास क्षेत्रमा पटक पटक रकेट आक्रमण भएका थिए ।