हिमपातले अलपत्र परेको ४ दिनपछि परिवारको सम्पर्कमा

जाजरकोट, तिहार मान्न जाजरकोटदेखि जुम्ला आएका दुई जना हिमपातले लेकमा अलपत्र परेको चार दिनपछि परिवारको सम्पर्कमा आएका छन् । अलपत्र पर्नेमा जाजरकोट, जुनीचाँदे गाउँपालिकाका हरिबहादुर शाही र जुम्ला तिला गाउँपालिकाका प्रेमबहादुर सिंह रहेका छन् ।मौसम राम्रो भएपछि आफूहरु नातेदारको सम्पर्कमा आएको सिंहले बताएका छन् ।

गत कात्तिक २९ गते जाजरकोटबाट हिँडेका सिंह र शाही ३० गते जाजरकोट र जुम्लाको सिमाना कागचुचाको लेकमा भारी हिउँ पर्न थालेपछि हिँड्न नसकी अलपत्र परेको जनाइएको छ ।कात्तिक ३० गते मध्याह्न १२ बजेपछि हिउँ पर्न छाडी घाम लागेपछि चार फिट हिउँमा दुई दिन लगाएर मङ्सिर १ गते राति आफूहरु दुई जना जाजरकोट फर्केको सिंहले बताएका छन् ।

उनीहरु सम्पर्कविहीन भएको खबर भएपछि कर्णाली प्रदेश सरकारले उद्धार गर्ने तयारी गरे पनि मङ्गलबार सम्पर्कमा आइसकेको प्रेमबहादुरका भाइ धीरबहादुरले जानकारी दिए ।अलपत्र परेको क्षेत्र चार हजार दुई सय मिटर उचाइ भएको जनाइएको छ । चार दिन उनीहरुले घरबाट ल्याइएको रोटी र अन्य खानेकुरा खाई ओढारमा बसेका थिए । भारी हिउँ अहिले पनि परिरहेको बताइएको छ । सम्पर्कमा आएका सिंहले भने, “कसरी बाँचेर आइयो, अहिले पनि डर लागिरहेको छ । ”