पत्थरीको सम्पूर्ण उपचार अब सुर्खेतमै हुने
प्रकासित मिति : २०७७ कार्तिक २६, बुधबार १३:४०
प्रकासित समय : १३:४०
सुर्खेत, कर्णाली प्रदेशमा भरपर्दो पत्थरीको उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर सृजना भएको छ ।
अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र भित्रिएसँगै यससम्बन्धी बिरामीले सुलभ र सहज उपचार गर्न पाउने भएका छन् ।अस्पतालका निर्देशक डा डम्बर खड्काले उक्त यन्त्र रु एक करोड २७ लाखमा खरिद गरेको जानकारी दिए ।
उनका अनुसार होल्मियम लेजर प्रविधिबाट ढुङ्गालाई धूलो बनाई सिधै पिसाबका माध्यमबाट बाहिर पठाइनेछ । “यो सुविधा प्रदेशमा थिएन हामीले कर्णालीमा भित्र्याएका छौं”, डा खड्काले भने, “यसले पिसाब नलीबाट रगत बग्ने समस्याको निराकरण हुनुका साथै स्वास्थ्यकर्मीलाई शल्यक्रिया गर्न सहज हुनेछ । हाल लेजर पद्धतिबाट गरिने यूरो सर्जरीको शुरुवात भएको छ ।

