अमेरिकामा एक हप्तामा ८ लाखभन्दा बढी संक्रमित

काठमाडौँ, अमेरिकामा एक सातामा ८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दैनिक लगातार एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएको अमेरिकामा एक सातामा ८ लाख ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो गत शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार, सोमबार र आज मंगलबार पनि १ लाखभन्दा बढी संक्रमित थपिएका छन् ।यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २५ हजार ५६४ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ४ लाख २१ हजार ८३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ५२ हजार ४५७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३६ लाख २४ हजार ९२६ जनामध्ये १८ हजार ९५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४४ हजार नाघेको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ६४१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ४४८ पुगेको छ ।