शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला, दोस्रोपटक कोरोना भाइरसको संक्रमण शून्य भइसकेको जुम्लामा फेरी सङ्क्रमण फैलन थालेको छ। सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको चिकित्सकहरु बताउँछन्। यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिएको छ।

१२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको जुम्ला त्यसपछि १४ असोजमा दोस्रोपटक पुनः सङ्क्रमण शून्य भएको थियो। तर, कोरोना सङ्क्रमणबाट भने हालसम्म कसैको मृत्यु भएको पुष्टि भएको छैन। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई स्थानीयले रुघाखोकी जस्तै ठानेर लापरवाही गरिरहेका छन्। सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि केही दिन निषेध आदेश जारी गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ ।

गएको चैतयता जुम्लामा सङ्क्रमित हुनेको सङ्ख्या ३३० पुगेको छ। यहाँ बुधबारसम्म ४८ जना सक्रिय सङ्क्रमित छन्। जुम्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। चन्दननाथ नगरपालिका अर्थात् जुम्लाको सदरमुकाम खलङ्गामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। यहाँका विशेषज्ञ चिकित्सकसमेत सङ्क्रमित भइरहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार सक्रिय सङ्क्रमितमध्ये पाँच जना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा छन्। गएको चैतयता यहाँका १० हजार ७९२ जनाको पीसीआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। लकडाउन भएयता भारतबाट एक हजार १७२ जना र मलेसिया, कतारलगायत तेस्रो मुलकबाट ३२ जना जुम्लामा प्रवेश गरेको प्रशासनको तथ्याङ्क छ।