स्वास्थ्य मन्त्रालयले भन्यो- खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको उपचार निःशुल्क गर्नु

बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड-१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।खर्च अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने मन्त्रालयले भनेको छ।

सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र मेडिकल कलेजलाई खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको निःशुल्क उपचार गर्न मन्त्रालयले निर्देशन दिएको हो।

कतिपय अस्पतालले कोभिड-१९ का बिरामीलाई भर्ना गर्दाको रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेलाई उपचार सेवाबाट वञ्चित गरेको गुनासो आइरहेको छ।

आर्थिक अवस्था राम्रो भएका बिरामीलाई रकम जम्मा गर्न अस्पतालले सूचना सार्वजनिक गरी खर्च व्यहोर्न नसक्ने बिरामी उपचार पाउनबाट वञ्चित भएको गुनासो आएको थियो।

मन्त्रालयको आइसिएस कोअर्डिनेटर डा गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै सरकारले तोकेका लक्षित वर्गका बिरामीको उपचार नगरी स्वास्थ्यमा असर पर्न गएमा अस्पताल स्वयम् जिम्मेवार हुने बताएका छन्।

उनले गरीब, विपन्न, अशक्त, असहाय र ज्येष्ठ नागरिकको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीका तर्फबाट स्वयं घोषणा भए मात्रै पनि मान्य हुने बताउनुभएको छ। लक्षित वर्गको उपचार खर्च सकारले व्यहोर्ने पनि उनले प्रष्ट पारेका छन्।