वर्तमान सरकार राष्ट्र तथा जनताप्रति हदैसम्म गैरजिम्मेवार भयो- विप्लव

निःशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था गर्न माग

काठमाडौं, सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचितव विप्लवले बर्तमान सरकार राष्ट्र र जनताप्रति हदै सम्मको गैरजिम्मेवार भएको आरोप लगाएका छन् । साथै उनले निःशुल्क रुपमा कोरोना परीक्षण र उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र तथा जनताप्रति उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको आरोप लगाएका छन् । सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेको उनको दावी छ ।

‘कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ’, विप्लवको विज्ञप्तिमा भनिएको छ ।

विप्लवले कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘ हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ’, विप्लवले भनेका छन् ।

स्वास्थ्य सङ्कटमा भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने हर्कत भइरहेको भन्दै सो पार्टीले कात्तिक १५ गते देशभर कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोधजुलुस निकाल्ने कार्यक्रम तय समेत भएको जनाएको छ ।

यस्तो छ विज्ञप्ति