पछिल्लो २४ घण्टामा थपिए ५७४३ कोरोना संक्रमित

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४४ हजार ७७६ रहेको मन्त्रालयले जनाएको छ । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ थियो ।

पछिल्लो २४ घण्टामा थप २९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९९ हजार ६०५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९६ हजार ६०९ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।