विश्वमा तीन करोड मानिसले जिते कोरोना,११ लाख २२ हजारको मृत्यु

एजेन्सी,  विश्वका तीन करोड बढी मानिसले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । अहिलेसम्म विश्वमा ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।

वर्ल्डओमिटका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ ।

११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको भने ज्यान गएको छ । यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ ।

यसैगरी ५२ लाख ५० हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ४६ लाख ८१ हजार निको भएका छन् । ब्राजिलमा १ लाख ५४ हजारको ज्यान गएको छ ।