सरकारले डा केसीको ज्यान लिने नियत राखेको आरोप

काठमाडौं, सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा गोविन्द केसीको ज्यान लिने नियत राखेको आरोप केसी पक्षको टोलीले लगाएको छ । केसी पक्षले देशभर दबाबमुलक कार्यक्रम जारी राख्न सबै नागरिकलाई अपिलसमेत गरेको छ ।

सरकार र डा केसी पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर वार्तामा कुनै सहमति भएन । सरकार प्रक्रियागत कुरामा पछि हटेकाले सहमति नभएको आरोप केसी पक्षले लगाएको छ । केसी पक्षका वार्ता टोली संयोजक डा। जीवन क्षेत्रीले वार्तामा बस्नुअघि अनौपचारिक छलफलबाट बनेको समझदारीको मस्यौदामा सरकारी टोलीले हेरफेर गरेको आरोप लगाएका छन् ।

डा क्षेत्रीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’