अस्पतालबाट ट्रम्प डिस्चार्ज, चाँडै चुनावी अभियानमा फर्कने

एजेन्सी, कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको कोडिभको उपचार जारी रहने भएको छ । अस्पतालबाट मरिन वान हेलिकप्टरमा उनी ह्वाइट हाउस पुगेका थिए ।

‘म निकै राम्रो महसुस गरिरहेको छु,’ ट्रम्पले यसअघि ट्वीट गरेका थिए, ‘कोभिडसँग नडराऊ । यसलाई तिम्रो जीवनमा हावी हुन नदेऊ ।’अमेरिकामा ७४ लाखभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ भने २ लाख १० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।डाक्टर तथा ह्वाइट हाउसबाट परस्पर विरोधी वक्तव्य आएपछि ट्रम्पको स्वास्थ्य अवस्थामा बारे अझै अन्यौलता रहेको छ । त्यस्तै, ह्वाइट हाउसमा संक्रमणको फैलावटको अवस्था पनि अज्ञात छ ।

निलो सुट, टाइ र मास्क लगाएर वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका ट्रम्पले सबैलाई धन्यवाद दिएका थिए । उनले पत्रकारहरुको प्रश्नको उत्तर भने दिन चाहेनन् ।ह्वाइट हाउस पुगेर उनी एक्लै बरन्डामा देखिएका थिए । त्यसपछि उनले मास्क खोल्दै फोटोका लागि पोज दिएका थिए ।