बैतडीका दुई स्थानीय तह सिल

बैतडी, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तह सिल भएका छन जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसँगै असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो ।

मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट टेसिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकाले नगरक्षेत्र सिल गरिएको हो ।यस्तै जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । भारतबाट फर्किएका एक जनाको कोरोनाका कारण मृत्यु भएको र आठ जना नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए ।

सिल भएको अवधिमा स्वास्थ्य बाहेक र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेको दुुवै स्थानीय तहले जनाएका छन् । नगर क्षेत्र सिल गरिएकाले सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहेका छन् । यस्तै सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द रहेको जनाइएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाइएको छ ।मेलौलीमा हालसम्म ३६ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । पुर्चौडीमा हालसम्म २० जनामा कोरोना पुष्टि हुँदा आठ जना सक्रिय सङ्क्रमित रहेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।