मृत्युको मुखबाट फर्केर जीवनको यात्रामा सफल तिवारी

जसको बोलिले हृदय छुन्छ अनि कथाले आँसु बर्साउँछ

भनिन्छ विगत केवल विगत मात्रै हो बित्यो सकियो। भुत भुत नै हो थियो सकियो। तर कतिपय विगतनै भविष्यका प्रेरक हुन्छन। विगत आफैमा गलत हुनसक्छ तर उसले भविष्यको गतिलो मार्गदर्शन पनि गर्न सक्छ। कुहिरो भित्र हराएको हिजोले जीवनरुपी सुन्दर किरणमाथी उक्लिन पनि सघाउँछ। आँसु पनि एकदिन हाँसो र सफलताको कारण बन्छ। मैले कतै सुनेको थिएँ “असिना सहेको बाली अनि दु:ख बुझेको मानिस कहिल्यै बिग्रीदैन।” हो साच्चिकै विगत दुखदायी हुनसक्छ तर त्यसैलेनै तपाईंलाई भविष्यमा बलियो पकड बनाउन मद्धत गर्छ। एकपटक पिपल र वर लाई हेर्नुहोस् त, उसलाई चट्टान खोलेर आफ्नो अस्तित्व बनाउन र जरा स्थापित गर्न कति मुस्किल परेको होला ? र पो उ कुनै पनि प्रतिकुल मौसम र हुरि असिनाबाट बिचलित हुँदैन। त्यसैले दु:ख बुझौं सुखी बनिन्छ।

प्रीय पाठक वर्गहरू, जीवन सिकाउन जिवनकै कथा चाहिन्छन अनि जित सिकाउन जितकै कथा प्रभावकारी हुन्छन र जिताउन हार र जितका समग्र घटना परिघटना उतिकै जरुरीनै हुन्छन। जीवनकर्म प्रती अग्रसर भएर आदर्श र सफल जीवन निर्माण हेतु प्रेरणाका कथाहरू खोज्ने क्रममा संयोगवस भएको छोटो र सामान्य भेटघाट तर अद्भुत कथा बोकेका पात्रको जीवन वृतान्त यहाँ खुल्ला गर्दै छु। हरेक कुरासँग कारण जोडिन्छ र हरेक कर्मसँग उपलब्धि पनि। यो कथा सार्वजनिक गर्नुपुर्व मैले पनि केही कारण र परिणामको अपेक्षा गरेको छु। त्यो हो तपाईंको लागी प्रेरणा र तपाईंमा आउने सकारात्मक परिवर्तन तथा विकास।

जीवनको सुरुवात र नियतिको असहमति :

जिन्दगीको डोरि चुँडिनै लागेको बेला, कालको आहारा बन्नै लागेको बेला त्यहाँबाट उम्किन सफल भएर आजको एउटा सम्पन्न र प्रतिष्ठित जिन्दगी बाँचीरहेका छन उनी। वि.सं २०४० को बैशाखमा एक मध्यमवर्गीय पारिवारिक सेरोफेरोमा जन्मिएका तेजप्रसाद तिवारी आमा लक्ष्मि तिवारी र बुवा शिवप्रसाद तिवारीका पहिलो सन्तान हुन। साहेद उहाँ दुईजनाको संगमको उपज उनि पहिलो मात्र होइन अन्तिम पनि हुन। तिवारीका लागि जन्म देखिनै घटना परिघटना अलिक प्रतिकुल बन्दै आए। मीठो बोलिले अभिव्यक्ति दिने उनिले भनेका थिए “बुवा आमाको पारिवारिक खटपटले सम्बन्धमा आएको दरारको कारण म आफ्नो घरमा नभइ ठुलिमुमा को घरमा जन्मिएको मान्छे हुँ, समयले त उतिबेलै देखि खेल खेलेरै आएको हो तर पछि मात्रै समयको खेल मैलेनै जित्न सफल भएँ।”

सम्बन्ध साहेद अलिक बढिनै चिसिएको थियो। त्यसैले आमाले उनलाई घर लिएर जानु भएन बरु मामाघर लिएर जानुभयो। शिशु तिवारी मामाघरकै परिसर भित्र हुर्किन थालेका थिए। परिस्थितिले पनि त कहिलेकाही अत्यन्त कठिन परिक्षा लिएको हुन्छ मान्छेको। त्यस्तै कठिन परिक्षाको रुपमा अग्नि बर्षायो तिवारी माथी पनि। उनी करिब छ महिनाको मात्र पुग्दै थिए। कोमल शिशु शरीर आगोको लप्कामा पर्न पुग्यो। आमाले अगेनाको छेउमा छोडेर गएको बेला नछिप्पिदैको कलिलो शरीर आगोको प्रचण्ड कालमुखी मुखले चुसेरै छाड्यो। जन्म लिँदा बाबाको उत्तरदायित्व र कर्तव्यको हात देखि पर रहेका तिवारीले अब जिन्दगीको काख देखि पनि टाढा हुनुपर्ने स्थिती सम्म आइपुग्यो। त्यो घटना यति भयानक थियोकी शिशुले मुखबाट पिएको दूध सम्म पनि घाँटीबाट बाहिर निस्किन्थ्यो। मरणासन्न स्थितीमा पुगेका तिवारीको दुवै हातका केहि औंलाहरू पनि जलेर गए। अनुहारमा पनि ठुलै क्षती पुगेको थियो। जसको फलस्वरूप अब उनी एक सामान्य बच्चा बाट अपांग बन्न पुगेका थिए। अब बच्चा मर्छ भनेर केराको पातमा सुताएको सम्म हुन। सुकुमोल तिवारीलाई हुनसम्मको कष्ट भएको थिएन। त्यो स्थिति बाट पुनः जीवन प्राप्ती पनि आफैमा सौभाग्य हो अनि ईश्वर छन भन्ने कुराको एउटा सप्रमाण पनि हो।

परिस्थितिले दिएको अर्को यथार्थ र अध्यन :

शिशु तिवारी माथी परेको तितो कालमण्डलमुखी बज्रपातले उनलाई त पिरोल्नु सम्म पिरोलेकै थियो त्यसैमाथी पारिवारिक खटपटलाई पनि जलिरहेको आगोमा घ्यु थप्ने काम पनि गर्‍यो। पहिलेदेखि नै चिसो सम्बन्ध र जलिरहेका मनहरूमा उक्त उग्र घटनाले रौद्र स्वरुप प्रतीत गरायो। अगेना काण्डबाट थलिएको अनि जिर्ण भएको तेजप्रसादको शरीर र स्थितिले उनका मामालाई हुनुसम्म आक्रोश दन्कायो र जसको फलस्वरूप मामा र बुवा बिच मुद्दा हालाहाल सम्म भयो अनि बुवा-आमा बिचको सम्बन्ध सर्वदाको लागि समाप्त पनि। अबोध बालक तिवारी यी सबै कुराबाट अनभिज्ञ थिए। थियो त उनलाई केवल शरीर दुखाई अनि आगोले छोडेका डरलाग्दा निशानीहरू अनि तिनका असह्य भयंकर जलनहरू मात्र। साहेद उनले आफ्नो शरीरमा भएको पीडा सँगै परिवारमा भएको असन्तुलनलाई पनि बुझ्न सक्थे भने उनको कोमल हृदयमा के बज्रन्थ्यो थाहा छैन। उनी अबोध थिए साहेद परिस्थितिको लागि त्यही सहि थियो। अनि नियतिको लागि पनि त्यस्तै स्विकार्य थियो।

बालक तेजप्रसाद लाई हम्मेहम्मे भएर बचाउन सफल भए परिवारहरू। बुवा सँगको सम्बन्ध धरासयी भइसकेपछी आमाले दोस्रो विवाह गर्नुभयो हरिलाल चापागाईं सँग। आमाको अर्को छोरा भयो अथवा तिवारीले भाइ पाए। अर्को एउटा सहयात्री पाए, सहकर्मी पाए अनि साथी पाए। “पारिवारिक पृष्ठभुमि आर्थिक तवरले खासै सबल त थिएन तथापि उनीहरुलाई अभावको अनुभुती हुँदैनथ्यो। माया प्रेम र भावनात्मक सम्पत्तिको कमि पनि भएको जस्तो लाग्दैन” भलाकुसारीको क्रममा तिवारीले अभिव्यक्ति दिएका थिए। पारिवारिक आस्था र प्रेमका खम्बाहरु बलिया नै थिए। वात्सल्य प्रेमको कमि त कहिलेपनी पाइएन। हुनसक्छन् अन्य बाधा व्यवधानहरू र भौतिक अड्चनहरू तथापी स्वतन्त्रतामा पनि कुनै कमि थिएन। जननी आफ्नी थिइन तर बुवा त काका हुन तथापी कहिल्यै पनि अभिभावकत्वमा पातलोपन देखिएन। आफ्नो ऐतिहासिक पृष्ठभुमि केलाउँदै गए।

काकाबुवा ले भारत गएर कमाएर ल्याउने अनि परिवारको भरणपोषण हुन्थ्यो र आवश्यकता परिपुर्ति गर्दथे। आर्थिक अवस्था पातलो नै होस तर तिवारीले पढाईको लागि भने प्रेरणा र सहयोग राम्रै पाएका थिए। उतिबेला पाँच कक्षा सम्मको पाठ्यपुस्तक त निशुल्क थियो तर त्यो भन्दा माथिको अध्यनको लागि भने पाठ्यपुस्तक खरिद गर्नुपर्ने हुन्थ्यो। पढाइमा प्रेरणा दिने मान्छेको कमि नभएपनि आर्थिक उपलब्धतामा भने कमि नै थियो। त्यो समय सजिलो थिएन तिवारीको लागि तर पनि पढाइमा भने उनी पछि पर्न चाहेनन् । बाधा व्यवधानको सामना गर्दै उनले अघि बढ्ने फैसला गरे। पाठ्यपुस्तक, पाठ्यसामग्री र खाजा नास्ताको उपलब्धताको लागि आर्थिक जोहो कहिल्यै बालुवा बोकेर गरे अनि कहिल्यै आफ्नै गुरुवर्गको चामल बोकेर। आफुले गरेको श्रमबाट आएको पारिश्रमिकले नै उनले आफ्ना शैक्षिक आवश्यकताहरू पूरा गर्ने गर्थे। त्यहीँबाट कापीकलम अनि खाजा नास्ता समेतको व्यवस्था गर्दथे। यहि तवरले उनले आठ कक्षा सम्मको यात्रा गरे।

अप्रत्याशित सुचनाले उब्जाएको तरंग र पछिल्ला दिन :

हाम्रो जिन्दगी त जन्म देखिनै अप्रत्याशित छ। न हामी हाम्रो योजनाले जन्मेका छौँ न त अपेक्षाले मर्नेनै छौँ। जिन्दगीमा जतिपनी घटना घटित हुन्छन त्यसमा पचहत्तर प्रतिशत हिस्सा अप्रत्याशितनै हुने गर्छन। त्यस्तै घटना मध्यको यो पनि एउटा थियो। तेजप्रसाद तिवारीले आफ्नो पौरख अनि परिवारको प्रेरणाले वि. सं २०५७ सालको कक्षा आठको अर्धबार्षिक परिक्षा मात्रै दिएका थिए। केहिदिनको लागि भनेर मामाघर भेटघाटमा गएका थिए दुई दाजुभाई तब त्यहाँ एउटा चिट्ठी छोडिएको थियो जुन चिट्ठीले बिल्कुलै अप्रत्याशित सन्देश बोकेको थियो। त्यो चिट्ठीले बोकेको यथार्थ र त्यही चिट्ठीले दिएको संवेगात्मक आघातलाई आज पनि उनी शब्दले बयान गर्न सक्दैनन। जीवनमा कहिल्यै अभिभावकत्वको पृथकता महसुस नगरेका एक किशोरलाई उसको परिवारनै पृथक बनाइदिएपछी संवेगात्मक र भावनात्मक ठेस कति पुग्दछ भन्ने कुराको प्रत्यक्ष उदाहरण हुन तिवारी तेजप्रसाद। उनी आजपनि भन्छन् , “मलाई त के सत्य के झुट छुट्ट्याउनै गाह्रो भएको थियो। कहिल्यै कोहिले मलाई भनेको थिएन कि मेरो अर्को एउटा छुट्टै परिवार छ जसले म माथी अधिकार जमाउन पाउँछ। मेरो कल्पना भन्दा परको सत्यलाई वकालत गरेको थियो त्यो चिट्ठीले। जब मैले खोलेर त्यो चिट्ठी पढेँ तब एउटा अनौठो तरंग उत्पन्न भएको थियो अनि आफैलाई सम्हाल्न कठिन भएको थियो।” यो पुरानो सत्यलाई अभिव्यक्त गर्दा उनको अनुहारको रंग र हाउभाउ फेरिन्छ आजपनी।

जसलाई होस सम्हाल्नु भन्दा अघि देखीनै आफ्नो बुवा मानेर आएका थिए उनी त काकाबुवा पो साबित भए अनि जसलाई जिन्दगीभर आफ्नो परिवार सम्झेका थिए त्यही परिवारलाई पराइको ट्याग पो लगाइयो। उक्त चिट्ठीमा लेखिएको थियो, ‘यदि भविष्यमा कहिल्यै आफ्नो अभिभावकको आवश्यकता पर्ने हो भने तुरुन्त आफ्नै परिवार भएको ठाउँमा आउनु।’ तिवारीले अनुभव गरे कि उनले टेकेको जमिन भासिएर जाँदै छ। उनको शिर माथीको सुर्य पनि ग्रहणको पकडमा पर्दैछ। अत्यास लागेर आयो अनि अनौठो अनुभुतिले घाँटी सुकेजस्तो हुनथाल्यो। पलपलको समय युगको अनुभुती हुन थाल्यो उनलाई। बाल मनोबिज्ञानमा लगाइएको एउटा रंगले उनलाईनै बेरंगको जस्तो बनाइदियो। उनलाई लाग्थेन कि त्यो सत्य हो तर त्यसको तुष्टिकरणको लागि कोहि आधार पनि त थिएन। फेरि भावनाले मानेको हरेक सत्य यथार्थमा पनि त हुन्न। छातिभित्र मच्चिरहेको सुनामीलाई बलपूर्वक ढाकछोप गर्दै र भित्रै समेट्दै स्वीकार गरिदिए र मानिदिए उनको परिवार झुटो हो अनि पर्दा पछाडि रहेको परिवार उनको हो। कर्म दिने पिता जन्मदाता होइनन अनि जन्मदाता कहिल्यै सामुन्ने आएनन। स्वीकार गरिदिए उनिले केवल चुपचाप…..।

तितो सत्य पश्चात् को बद्लिदो धरातल :

केही दिनको लागि बसाइँ र भेटघाट भन्दै मामाघर गएका तिवारीलाई उक्त पत्रले निकैनै बिक्षिप्त बनायो। हृदयमा उर्लिएका भाव र मस्तिष्कलाई भ्रमित पारिरहेका संवेगका तरंगहरुलाई जसोतसो थेग्दै भोलि पल्टनै घर फर्किए। जीवनभर आँखामा नपरेको सत्यले उनी निकै भावावेश भएका थिए। के भयो भयो ठम्याउन मुस्किल भैरहेको बेलानै उनले आमा सँग बिदाबादी मागे र त्यहाँबाट हिड्ने सोच बनाए। केवल सत्र वर्षको उमेरमा जीवनभर नदेखेको र नसोचेको सत्यले गर्नु सम्म गरेको थियो। उनको कलिलो हृदयमा कतिसम्म घोच्यो त्यसको बयान गरि साध्यनै छैन।

जीवनको बोटलाई गोडमेल गरेर हुर्काइ एक जिम्मेवार फसलदार रुखमा परिणत गरिदिने ती आमा प्रती आभार व्यक्त गर्दै सकेसम्म दुधको भारा तिर्ने प्रतिबद्धता गरि मुटुमा पत्थर राख्दै बिदा हुनेबेला भयो। जसै उनी छुट्टिएर जानेबेला भयो मुटुभित्र दबाब दिएर राखेका भावनाका तरंगहरु गंगा जमुना बनेर आँखाबाट अविरल बग्न थाले। कहाँ सजिलो हुन्छ र जन्मदेखी काख नछोडेको मान्छेलाई ममताको आँचल एकै पटकमा त्यागेर टाढा भइदिन पनि। तर पनि नियतिको खेल न हो टार्न पनि नसकिदो रैछ। जननी र कर्मजनकलाई हदैसम्मको आभार दर्साउदै बिदा त भए तर त्यहाँको ममता र यादहरुले त उनलाई छोड्ने कहाँ थिए र। जसोतसो सम्हालिदै मामाघर सम्म पुगे। भोलिपल्ट बिहानै दाजुले उनलाई गाडिमा चढाइदिए तर संयोगवश तिवारीको जन्म दिने बुवा पनि नेपालगन्ज देखि सोही गाडिमा आउनु भएको रैछ। जीवनमा पहिलोपटक देखेको थिए उनलाई जो उनको आफ्नै पिता कहालाएर आएका थिए। त्यो कुरा आफैमा महाँचुनौती थियो एक अपरिचितलाई आफ्नो पिता मान्दै उसैको सरणमा आफुलाई समर्पण गर्नुपनी। जिन्दगीमा कहिल्यै नदेखेको, नभेटेको मान्छे सँगको महसुसनै नगरेको सम्बन्धमा गाडिको एउटै सिटमा बसेर यात्रा गरेका थिए। यात्रा दैलेखको याद सुर्खेतको….।

नयाँ परिवार सँगको व्यवहारिक पृथकता र अनुभुती तथा वर्तमानको जीवन :

जिन्दगीको अप्रत्याशित मार्गमा यात्रा गरिरहेका तिवारी उनको पिताको साथमा आफ्नै तर कर्मले अलग्याएको घरमा पुगे। नयाँ घर, नयाँ परिवार मात्र होइन समुदाय पनि नयाँ। उनलाई त्यहाँ समायोजित हुन निकै कठिन भएको थियो। भाग्यले दिएका पिता नियतिले अलग गरायो अनि नियतिले देखाएको आफन्त पराई साबित भए। हदैसम्मको गहन परेको थिएन उनको मर्मचोट। शरीर दैलेखको परिवार सँग थियो अनि आत्मा सुर्खेतको परिवार सँग। वास्तविक उनी कुन ठाउँमा छुट्ट्याउन अत्यन्तै कठिन। जीवनले अचम्मैको मोडमा उभ्याएको थियो उनिलाई। न त सपना जस्तो अनि न त यथार्थ जस्तो नै। कस्तो कस्तो। उनी आजपनि स्मरण गर्दै भावुकताको चंगुलमा जकडिन्छन अनि भन्छन “भाइ, आमा र काकाबुवाको सम्झनाले रुनसम्म रोएको थिएँ अनि दुख्न सम्म दुखेको थिएँ। एक त आफ्नो परिवारबाट अलग्गिएर आएको थिएँ अनि अर्कोतिर परिवारमा अरु भाइबहिनी र ममा व्यवहार विभेद देखिन्थ्यो। मलाई आफ्नो भन्दा अलिक पृथक व्यवहार गरिन्थ्यो जुन काकाबुवा र आमाको साथमा हुँदा कहिल्यै महसुस गरेको थिइनँ।” उनको मीठो बोलिले अभिव्यक्त गर्ने कथावस्तुले जोकोहीको पनि हृदयमा भाला रोपिन्छन।

आफ्नो प्रकृति र भाग्यले दिएको पिताको साथमा पनि बिस्तारै समायोजन हुँदै गएका तिवारीले पढाईको महत्वाकांक्षा माथिपनी बलजफ्ती दमन गरे। कारण उनिलाई त्यहाँ पढाइको निम्ति प्रेरणा र हौसला थिएन। हुनत त्यो परिवारमा सम्पत्ति पैसाको अभाव त थिएन तर पनि उनको चाहाना र महत्वाकांक्षाको सम्बोधन गरिएन। साहेद उनले आफ्नो आकांक्षा व्यक्त गरेनन अनि पिताले उनको सोच जान्ने चेष्टा पनि गरेनन। बरु तिवारीले व्यापारको काममा भने सिक्ने र अनुभव लिने अवसर भने राम्रै पाएका थिए। किनभने उनको बुवा सँग दैलेखको चुप्रामै भाँडा पसल थियो अनि तेजप्रसादले पनि त्यही पसलबाट आफ्नो व्यवसायीक यात्राको प्रारम्भ गरेका थिए। वि.सं २०५८ सालतिर उनको पिताजीले ट्याक्टर लिनुभयो अनि तेजप्रसाद त्यही ट्याक्टरको अघिपछि गर्दै व्यवसाय र ढुवानीमा पनि उतिकै संलग्न भएका थिए। काकाबुवा पट्टिको भाई सँग पनि सम्पर्क पत्रमार्फत हुन्थ्यो र त्यो परिवार सँग पनि। दिनचर्याले उनको व्यापारीक भविष्य निर्माण गरिरहेको थियो।

दैलेखको उकाली ओरालीबाट उनीहरुले बिरेन्द्रनगरलाई व्यापारीक स्थल बनाएर व्यापार गर्न थाले। केही बर्ष बुवा सँगै बसेर व्यापार गरेपनि वि.सं २०६६ सालदेखि उनले जन्मजनक को काख पनि छोडेर अब एक्लै संघर्ष गर्न थाले। उनी वैवाहिक जीवनको बन्धनमा बाँधिइसकेपछी मात्र पिता भन्दा अलग भएका थिए। पिताजीबाट पाएको लगानिस्वरुप तत्कालीन समयको करिब तीन लाखबाट उनले आफ्नो एकल व्यापारीक करिएर सुरु गरेका थिए। व्यावसायिक जीवनपनी आफैमा चुनौतीपूर्ण हुन्छ। बजारमा आफुलाई स्थापित गरेर व्यापारीक स्तम्भ निर्माण गर्नु सहज पक्कै थिएन तर उनको लगाव र निरन्तरताले त्यो नतिजा पनि दियो जुन सामान्यतया हर कोहिको लागि बिल्कुल असम्भव पनि हुन्छ। उनको लगनशीलता र मेहनतले चुनौती लाई नै चुनौती दिएको थियो र आज उनी एक सफल भाँडा व्यवसायी मात्रै होइन करिब पाँच करोड बराबर सम्पतिको मालिक पनि हुन। उनको व्यापारीक यात्रा त्यति धेरै लामो त छैन तर परिणाम भने व्यवसायीक क्षेत्रमा सुर्खेतको हकमा कोहि भन्दा कम छैनन। आज उनको लगनशीलता तथा ग्राहक प्रतिको उनको मैत्रीपुर्ण व्यवहारले बिरेन्द्रनगरमा चाँडै बृहत उपलब्धि हात लाएका छन। एकल संघर्ष र लगनशीलता अनि मीठो बोलिको साथै गरिने आकर्षक मैत्रीपुर्ण प्रेमिल व्यवहारले ग्राहकहरूलाई आकर्षण गर्नुको साथै हरेकको मनमनमा बस्न पुगेका छ्न। र आज उनी व्यवसायीक यात्रामा सफल हस्ती बन्नुको साथै उद्योग बाणिज्य संघका निर्वाचित सदश्य पनि हुन।

“मीठो बोलिका धनी” को उपमाले चिनिने तिवारी भन्दछन, “जीवनमा केही गर्न चाहानेहरुको लागि प्रेरणाको अति जरुरी हुन्छ चाहे त्यो व्यापारीक क्षेत्रमा होस या अन्य तर प्रेरणा हुनुनै पर्छ। मेरो जीवनको संघर्षले युवा वर्ग र स्वप्नद्रष्टा हरूको लागि सफलताको निम्ति सानै भएपनी प्रेरणाको स्रोत बनोस भन्ने महान अपेक्षा राख्दछु। जीवनमा चाहै जस्तोसुकै स्थिती अवस्था आवस तर योद्धा कहिल्यै हिन भएर हट्दैन बरु वीर भएर लड्छ। उत्कृष्ट सोच, सपना अनि रणनीतिको साथ डटेर बढ्छ। उसको जीवनको गन्तव्य यहि हुनुपर्छ, या त जित या त मृत्यु तब नियति पनि झुकेर सम्मानसाथ जित दिलाउँछ।”