कपिलवस्तुमा विद्युत् प्राधिकरणको जिप खोलाले बगाउदा १ को मृत्यु

२ बेपत्ता

कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एकजनाको मृत्यु भएको छ।

बुधवार दिउँसो ४ बजे वाणगंगा नगरपालिका-९ भलवाडमा विद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्बरको जिप बगाएको थियो। मोतीपुर कजवे पार गर्ने क्रममा बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तम्घास निवासी विद्युत् प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन्।

प्राधिकरण जीतपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एकजना बेपत्ता भएका छन्। जिपमा ४ जना कर्मचारी र २ जना सर्वसाधारण चढेका थिए। २ कर्मचारी र १ सर्वसाधारण भाग्‍न सफल भएका वाणगंगा नगरपालिका-९ का अध्यक्ष विष्णु गिरीले बताए। घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी खोजतलास गरिरहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले बताए। खोलामा पानीको बहाव बढेकाले खोजी गर्न असहज भएको छ।