गरिब तथा विपन्नका लागि १५ अस्पतालमा आकस्मिक सेवा निःशुल्क

काठमाडौं, सरकारले देशका विभिन्न १५ वटा अस्पताल मार्फत गरिब तथा विपन्न वर्गलाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।काठमाडौँमा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्रमा यो सेवा सुरु गरिएको छ ।

त्यसैगरी काठमाण्डौं बाहिर कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेलधुुरा अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रमको लागि तोकिएको छ ।

कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलगायत केही अस्पतालले यो सेवा सुरु गरिसकेका छन् ।

मन्त्रालयले कार्यक्रमको सुरुवातमा सम्बन्धित अस्पतालहरुलाई केही बजेट पेश्कीको रुपमा दिइनेछ भने खर्च रकम सोधभर्नाको लागि पेश गर्दा इकाइ मूल्य स्वास्थ्य बीमा बोर्डको अधिकतम मूल्य भन्दा बढी हुनु नहुने जनाएको छ ।

गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो व्यवस्था लागु भएको जनाएको छ ।

कार्यक्रमको अनुगमन तथा निरीक्षण संघ र प्रदेशका सम्बन्धित निकायहरुले आवश्यकता अनुसार कम्तीमा वर्षमा दुई पटक गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएकोे छ ।