प्राविधिक शिक्षामा गढवा गाउँपालिकाको जोड

दाङ,  देउखुरीको गढवा गाउँपालिकाले पछिल्लो चरणमा प्राविधिक शिक्षातर्फ जोड दिन थालेको छ । गाउँपालिकाको स्वीकृत पछि गढवाका दुई बिद्यालयमा यसै बर्ष देखि प्राबिधिक बिषयको पढाईका लागि सिटिइभिटी बाट सम्बन्धन प्राप्त भै सकेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन् । जस अनुसार गढवा ५ स्थित चैनपुर माध्यमिक बिद्यालयमा १८ महिने भेटेनरी पशुस्वास्थ्य अर्थात् पशुबिज्ञानको पढाई हुने भएको छ भने वडा नं १ को जनता माध्यमिक बिद्यालय कालाकाटेमा १८ महिने प्रिःडिप्लोमा सिभिल इन्जीनियरिङको बिषय पढाई हुने भएको हो । यसअघि गढवाको वडा नं ३ स्थित सरस्वती माध्यमिक बिद्यालयमा २०७० साल देखि नै कृषि प्राविधिक धारको बालीविज्ञानको पठन–पाठन चल्दै आएको छ ।

 

बैज्ञानिक र ब्यबहारिक शिक्षा आजको आवश्यकता भन्ने मर्मलाई आत्मासात गर्दै यस बर्ष देखि आफ्नो बिद्यालयमा १८ महिने प्रिःडिप्लोमा सिभिल इन्जीनियरिङ बिषय पढाउने तयारी भै रहेको जनता माध्यमिक बिद्यालय कालाकाटेका प्रधानध्यापक मुक्तिप्रसाद शर्माले जानकारी दिए । गाउँपालिकाबाट स्वीकृति लिई सिटिइभिटीबाट सम्बन्धन प्राप्त भै सकेको छ । कोभिड–१९ का कारण भर्ना खोल्न निर्देशन नपाएपनि बिद्यार्थीहरु आन्तरिक सम्पर्कमा लर्को लागेका छन्(प्रधानध्यापक शर्माले भने । शुल्क कति लिने भन्ने बिषयमा ब्यवस्थापन समितिको निर्णय बाँकी छ । जेहेन्दार २ जना र दलित आरक्षणबाट १ जना गरी कुल ४० जना मात्र बिद्यार्थी भर्ना गर्न पाइने भएको छ । एसइइ परिक्षामा समावेश भएको बिद्यार्थी सो कोर्षका लागि भर्ना हुन पाउने छन्–बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द बोहोराले भने ।यता शिशु कक्षा देखि कक्षा १२ सम्म पठन–पाठन हुँदै आएको चैनपुर माबिमा पनि यसै बर्ष देखि १८ महिने भेटेनरी पशुस्वास्थ्य९पशुबिज्ञान० को पढाई सुरु हुने भएको छ ।

भर्ना खोल्ने निर्देशन प्राप्त नभएपनि प्रचार प्रसारलाई तिब्रता दिएका छौं, पठन–पाठनका लागि दक्ष जनशक्तिको खोजी पनि गरिरहेको बिद्यालयका सहायक प्रधानाध्यापक सुरज शर्माले जानकारी दिए । कुल १८ महिनाको कोर्षमा ३ महिना प्रयोगात्मक फिल्ड रहने छ । प्रति बिद्यार्थी जम्मा ६५ हजार शुल्क लिने निर्णय भएको छ–बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमन्त चौधरीले जानकारी दिए । सामुदायिक बिद्यालयहरु मध्ये देउखुरी क्षेत्रमै पहिलो पशुबिज्ञानको पढाई हाम्रो स्कूलमा सुरु हुन थालेको छ–बिद्यालयका प्रधानध्यापक बिष्णु कुमाल चौधरीले भने ।उता बिगत सात बर्ष पहिले देखि गढवाको सरस्वति माध्यमिक बिद्यालय गोबरडिहामा कृषि प्राबिधिक धारको बालीबिज्ञान पढाई संचालन भएको र थुप्रै जनशक्ति उत्पादन भएको सो बिद्यालयका प्रधानाध्यापक सुर्यप्रकाश बर्माले जानकारी दिएका छन् । कक्षा ९ देखि १२ सम्म कृषि प्राबिधिक धार पढाई हुने गरेको छ । कक्षा १० सम्म उत्तिर्ण बिद्यार्थी जेटिए बन्छन् भने कक्षा १२ उत्तिर्ण गरेमा जे।ई।बन्छन्–प्रअ बर्माले भने ।

यस बिद्यालयमा भने हाल नेपाल सरकारको नियमानुसार निःशुल्क पढाई हुन्छ । भर्नाको बेला सामान्य शुल्क लिने बाहेक अरु सरकारी नियमानुसार नै हुन्छ–प्रअ बर्माले भने । बिगत २०७० सालदेखि यस बिद्यालयले कृषि प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको र रोजगारका लागि पनि बिद्यार्थीहरुले मौका पाएको उनले बताए । यसरी गढवा गाउँपालिकाले रोजगारीलाई ध्यान दिदै प्राबिधिक धारका पढाई संञ्चालन गर्न थप जोड गर्दै आएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताएका छन् ।